काठमाडौँ — युन वाडी र मे लुको दुई/दुई गोलको मद्दतले म्यानमारले फोर नेसन्स कपको बिहीबार भएको खेलमा किर्गिस्तानलाई ५–० ले सजिलै पराजित गरेको छ । प्रतियोगितामा म्यानमारको यो लगातार दोस्रो जित हो । यससँगै उसको फाइनल पुग्ने सम्भावना बलियो भएको छ ।
म्यानमारले यसअघि आफ्नो पहिलो खेलमा लेवनानलाई पराजित गरेको थियो । कुल चार टिम सम्मिलित प्रतियोगितामा म्यानमारको ६ अंक भएको छ र लिग तालिकाको शीर्षमा छ ।
दशरथ रंगशालामा भएको खेल पूर्णतः म्यानमारको नियन्त्रणमा थियो र उसले पहिलो हाफमै चार गोल गरेको थियो । वाडीले दोस्रो मिनेटमै गोलको खाता खोलिन् र ४१ औं मिनेटमा दोस्रो गोल थपिन् । लुले भने ३६ र ५९ औं मिनेटमा गोल गरिन् । त्यसबीच ३० औं मिनेटमा सान्डर लिनले पनि एक गोल गरिन् । अब म्यानमारले आफ्नो अन्तिम खेलमा नेपालको सामना गरेको छ । अब बिहीबारको दोस्रो खेलमा नेपालले लेवनानको सामना गर्नेछ ।
