आज देश दुनियाँमा के-के भयो ?

फाल्गुन ७, २०८१

कान्तिपुर संवाददाता

What happened in the world today?

काठमाडौँ — कालीमाटी तरकारी बजारका एक मजदुरको हत्या, ओडिसा घटनाबारे परराष्ट्रमन्त्री राणा र भारतीय मन्त्रीबीच फोनवार्तादेखि रुस-युक्रेन युद्ध अन्त्य गर्ने शक्ति आफूसँग भएको ट्रम्पको भनाइसम्मका खबर आज चर्चामा रहे । 

०००

काठमाडौँको कालीमाटी तरकारी बजारमा बुधबार बिहान मृत भेटिएका मजदुरको उनकै साथीहरूले हत्या गरेको खुलासा भएको छ । प्रहरीका अनुसार तरकारी बजारमा काम गर्ने ४१ वर्षीय रामकृष्ण दाहालको हत्या भएको हो । टाउको र शरीरका विभिन्न भागमा घाउचोट लागेको अवस्थामा कालीमाटीस्थित उनको कोठानजिकै शव फेला परेको थियो । बुधबार बिहान कोठा नजिकै शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

०००

परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिका विषयमा ओडिसाका उच्च शिक्षा मन्त्रीसँग टेलिफोनमा कुराकानी गरेकी छन् । मन्त्री राणाले ओडिसाका उच्च शिक्षामन्त्री सूर्यवंशी सुरजसँग लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीहरूलाई कलेजमा सुरक्षित वातावरणसहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेकी छन् ।

०००

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारको चुनौतीलाई चिरेर अघि बढ्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस–२०८१ का अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले युवाहरुलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको नीति रहेको स्पष्ट पारे । 

०००

फिल्म ‘लाज् शरणम्’को प्रचारप्रसारलाई रोक लगाउने उच्च अदालत पाटकको अन्तरिम आदेशबारे चलचित्र निर्देशक समाजले आपत्ति जनाएको छ । मंगलबार अदालतले प्रदर्शन तयारीमा रहेको फिल्म ‘लाज शरणम्’को प्रचारप्रसार रोक्ने आदेश दिएपछि निर्माण टिमको प्रचारप्रसार ठप्प भएको थियो ।  

०००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग रुस-युक्रेन युद्ध अन्त्य गर्ने शक्ति रहेको बताएका छन् । मंगलबार साउदी अरबमा अमेरिका र रुसबीचको बैठकपछि बोल्दै ट्रम्पले युक्रेनमा युद्ध अन्त्य गर्ने शक्ति आफूसँग रहेको बताएका छन् । 'मलाई लाग्छ, मसँग यो युद्ध अन्त्य गर्ने शक्ति छ,' ट्रम्पले भनेका छ्न् । युक्रेनमा शान्ति सम्झौता हासिल गर्न सकिनेमा आफू बढी विश्वस्त रहेको ट्रम्पको भनाइ छ । तर मंगलबारको वार्तामा भने युक्रेनी पक्षलाई संलग्न गराइएको थिएन । 

कान्तिपुर संवाददाता

Link copied successfully