‘लाज शरणम्’को प्रचारप्रसार रोकमाथिको आदेशमा निर्देशक समाजको आपत्ति

फाल्गुन ७, २०८१

कान्तिपुर संवाददाता

Director's Society's objection to the order to stop the promotion of 'Laaj Sharanam'

काठमाडौँ — फिल्म ‘लाज् शरणम्’को प्रचारप्रसारलाई रोक लगाउने उच्च अदालत पाटकको अन्तरिम आदेशबारे चलचित्र निर्देशक समाजले आपत्ति जनाएको छ ।

मंगलबार अदालतले प्रदर्शन तयारीमा रहेको फिल्म ‘लाज शरणम्’को प्रचारप्रसार रोक्ने आदेश दिएपछि निर्माण टिमको प्रचारप्रसार ठप्प भएको थियो । 

चलचित्र निर्देशक समाजका निर्देशक जनकदीप पराजुलीले विज्ञप्ति जारी गर्दै प्रक्रियामा नपुगीकन फाट्टफुट्ट आएका प्रचार सामग्रीका भरमा चलचित्रमाथि अंकुश लगाउने कामले सर्जकलाई झस्काएको उल्लेख गरेका छन् ।

‘चलचित्र अभिव्यक्तिको माध्यम भएको र चलचित्रले समाजका विभिन्न पात्र र प्रवृत्तिलाई लिएर कथानक स्वरुप दिने परम्परा सर्वविदितै छ । यसरी बनेका कथाले कुनै व्यक्ति वा समुदायको व्यक्तित्व, संस्कार, संस्कृतिलाई आघात पुर्‍यायो कि पुर्‍याएन भनेर जाँच गर्नलाई चलचित्र विकास बोर्ड र चलचित्र जाँच पास समिति आदि सरकारी निकाय अस्तित्वमा छन्,’ विज्ञप्तिमा उल्लेख छ, ‘यो आदेशले चलचित्रको करोडौँ लगानी जोखिममा परेको छ र यसले सिर्जनशील सर्जकलाई नराम्ररी झस्काएको छ ।’

निर्देशक समाजले ‘लाज शरणम्’ लगायत सोही प्रकृतिको कानुनी लडाइँमा रहेका अन्य चलचित्रको प्रक्रियामा पनि ऐक्यबद्धता जनाएको छ । निर्देशक समाजले आवश्यक सहयोगका लागि चलचित्रसँग सम्बन्धित पेसागत संघसंस्थालाई गोलबद्ध हुन समेत आग्रह गरेको छ ।

‘लाज शरणम्’मा पूर्वमन्त्री अफताव आलमले आफ्नो अनुहारसँग हुबहु मिल्ने गरी फिल्ममा चरित्र निर्माण गरेको भन्दै मुद्दा दायर गरेका थिए । मंगलबार उनको मुद्दामा सुनुवाइ गर्दै न्यायाधीधद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले फिल्मलाई केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नलिई सामाजिक सञ्जाल कथा सञ्चारमाध्यममा प्रचारप्रसार नगर्न र नगराउन अन्तरिम आदेश दिएको थियो ।

कान्तिपुर

Link copied successfully