गणेश रसिकको वियोगान्त जीवन

जीवनबाट बिदा लिएका श्रीमती नीरा, छोरा निमेश तथा तीन भाइ शम्मी, श्याम र प्रजुको अनुहार रसिकको मस्तिष्कमा घुमिरहन्छ, आजकल त शारीरिक रूपमा पनि फतक्कै गलेका छन्- प्रोस्टेटको क्यान्सरले

फाल्गुन ३, २०८१

दीपक सापकोटा, तस्बिर: अंगद ढकाल

The tragic life of Ganesh Rasik

काठमाडौँ — गायक गणेश रसिक (७७) लाई एकदमै निकटबाट चिनेकाहरू भन्ने गर्छन्, ‘यी रसिक अर्थात् रसपारखीलाई जिन्दगीले नवरसमध्ये चार रस क्रूरतापूर्वक बेहिसाब दियो ।’ ती चार रस हुन्- करुण, रौद्र, भयानक र बीभत्स । 

हिँडिआएका जीवनका गल्छेंडाका याद रसिकको मानसजगत्माथि धावा बोलिरहन्छन् । उनी आजकल विचलित र अशान्त लाग्छन् । हुन पनि उनी जिन्दगीभर वियोगबाट प्रताडित भइरहे, शृंखलाबद्ध पारिवारिक दुर्घटना झेलिरहे ।

ती दुर्घटना र गुमाएका प्रियजनका वियोगले उनी गलेका थिए नै, २०७८ को कात्तिकले उनीमाथि महाप्रलय खन्याइदियो । ४७ वसन्त लामो सहचार्यपछि श्रीमती नीरा शेरचन पनि महाप्रस्थानमा हिँडिन् । तत्पश्चात्, टेक्ने हाँगो र समाउने बुटो केही पनि बाँकी रहेन । र, आफैंले गाएको गीत ‘ओ शून्यता’ झैं उनी लगभग ‘शून्य ओ शून्य’ बने । 

रसिकको जीवन–पथ नियाल्दा देखिन्छ– उनी आफ्नै किताबको शीर्षक ‘जब सिस्नुहरू टेक्दै हिँडे’ झैं जीवनैभर सिस्नुहरू टेक्दै हिँडिरहेका छन् । आफन्तले छाडेर गएपछिका घाउ पुरिएका छैनन्, बरु पछिल्ला ठन्डीका दिनमा त्यो वियोग–शृंखलाको सम्झना अझै बौरिएर आएको छ । र, अचेल त उनी फतक्कै गलेका छन्— प्रोस्टेट क्यान्सरले । महाव्याधि क्यान्सरको चौथो चरण अर्थात् ‘फोर्थ स्टेज’ मा छन् उनी ।

The tragic life of Ganesh Rasik

कर्कटिकासँग लडिरहेका छन् । नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि, ललितपुरमा ‘फलोअप’ का लागि पुगेका रसिकले सोमबार भने, ‘अब त निकै गलें नि भाइ ! खुट्टा दुख्छ, ढाड दुख्छ । कुनै चिज गर्नै मन लाग्दैन । सधैं मृत्युबारे सोचिबस्छु, मृत्युचिन्तन आइरहन्छ ।’ शरीरमा प्रोस्टेट क्यान्सर प्रवेश भएपछि रसिकका दिनहरूमा पूरै बदलाव आएको छ ।

पहिलेको नियमित किमो अहिले रोकिएको छ, पिसाबसम्बन्धी समस्या छँदै छ । क्यान्सर अस्पताल पुग्नु, डाक्टरका सुझाव–सल्लाह सुन्नु, घर फिर्नु, मुड चलेका बेला मित्र–आफन्त सम्झेर केही स्मृति लेख्नु, थरीथरीका औषधि सेवन गर्नु, फूलले ढाकिएको बार्दलीबाट छेउछाउका फाँट–क्रंक्रिटको सहर नियाल्नु र ओछ्यानमा पल्टिरहनु नै उनको अहिलेको दैनिकी हो । 

अनुहारमा चमक भने स्थायी छ । देख्दा हट्टाकट्टा नै देखिन्छन् । तर, ७० केजीबाट घटेर ५६ का भए । भन्छन्, ‘भित्रैबाट गलें भाइ म । साथीहरू आउँछन्, तँ बिरामीजस्तै छैनस् त भन्छन् !’ 

...

भोजपुर, छिनामखुमा २००४ सालमा जन्मेका रसिक ५० वर्षअघि ‘लेकाली’ समूहमा थिए– गीत गाउँदै गाउँ–गाउँ डुलिहिँड्थे । लाहुरे संस्कृति–संस्कारमा हुर्केका उनी एक बहुआयमिक व्यक्ति हुन्, जो आफ्ना गीतमा नेपालीका दुःख, संघर्ष र सपना लेख्थे/गाउँथे । गहिरो जीवनबोध, प्रकृति, एक्लोपन उनका गीति–कन्टेन्ट हुन् ।

‘ओ याङ्जी नाना,’ ‘नुनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर’, ‘धेरै सम्झे धेरै हुन्छ’, ‘हाम्रो घरबाट ट्याम्के डाँडा’, ‘ओ शून्यता’, ‘घरबेटी नानी आँगनीमा देऊ न मलाई बास’, ‘नखेल्नु जुवा र तास’, ‘रातो भाले क्वाँया क्वाँया’ हरू उनका कालजयी गीत हुन् । ‘क्षितिजलाई छुन खोज्दा (कथासंग्र्रह), ‘रसिकका गीतहरू’ (गीतसंग्रह), ‘आकाशगंगाको ओतमुनि’ (उपन्यास), ‘दशगजामा उभिएर’, ‘जब सिस्नुहरू टेक्दै हिँडे’, पाँच पुस्तकको ‘पेरुङ्गो’ (संस्मरण) लगायत रसिकका प्रकाशित किताब हुन् । 

The tragic life of Ganesh Rasik

‘लेकाली’ बन्नुअघि उनी राल्फा समूहमा थिए । राल्फामा ६ महिनाजति बिताएर बाहिरिए । ‘गीतसंगीतले जोडिएका राल्फाका चार साथी मञ्जुल, रायन, रामेश र नोरेम मबाहेक चार किसिमका चार चरित्रका थिए– एकअर्कासँग पटक्कै नमिल्ने । त्यही भएर राल्फा धेरै समय टिकेन,’ रसिकले भने । पछि रसिकले राल्फा छोडेर हिरण्य भोजपुरेसँग ‘लेकाली’ समूह खोले । 

...

मध्य असारको झरी परिरहेको एक दिन भक्तपुर बालकोट–निवासमा रसिकले जीवनका वियोग, शून्यता र पारिवारिक विखण्डनका स्मृति सुनाएका थिए । आफ्नाको यादमा उनका आँखामा टम्म आँसु भरिएको थियो । झ्यालबाट झरिरहेका पानीका थोप्लातिर हेर्दै रसिकले भनेका थिए, ‘यो जीवन–हंसको नियति पनि यस्तै त रै’छ, उमेर उकालो लागेपछि यो पानीजस्तै झर्नु र विस्तारै बिलाउनु !’ 

क्यान्सरको अति पीडाले दुखाइरहेका यी दिनहरूमा प्रियजन सम्झेर रसिक एउटै प्रश्नमा घोत्लिन्छन्, ‘भनिन्छ– भाग्यमानीहरू छिट्टै परलोक जान्छन् रे, त्यसो भए जो म बाँचेको छु, म अभागी हुँ त ?’

परिवारका सदस्यहरू लगालग कहिल्यै नफर्किने अनन्तः यात्रामा गए । ‘तिनीहरूकै सम्झनाले बाँचेको छु,’ भन्छन् रसिक । साथ दिन यता बुहारी–नातिनी छिन्, छोरी छिन्– सिर्जा राई (रसिक), जो अहिले बेलायत बस्छिन् । 

आफूलाई छोडीजाने प्रिय तीन भाइको अनुहार रसिकको मस्तिष्कमा घुमिरहन्छ– शम्मी, श्याम र प्रजु । ‘एउटा चङ्खे किशोर ठिटो कोइलीसँग स्वर मिलाउँदै भन्ने गर्थ्यो– म पनि ठूलो गायक बन्छु’, भाइ शम्मी सम्झेर ‘दशगजामा उभिएर’ किताबमा उनले लेखेका छन्, ‘उसले रेट्दै गरेको जीवनको सारंगी पत्तै नपाई कुन झड्कोमा चुँडियो । ५ असार २०४० को मध्यझरीमा आफैं जन्मेको घरको बुइँगलमा पासोमा झुन्डियो ।’

रसिक हतास मनस्थितिमा पुग्छन् बेला–बेला । संवादमा निकै पटक भनिरहे– मृत्यु चिन्तन आउँछ मलाई । ‘आफन्तको मृत्युअघिका केही दिन मर्नुको विम्ब–दृश्य मेरो सपनामा आइरहे– मेरी श्रीमती, भाइ र छोराको मृत्यु हुनुअघि पनि ती आए सपनामा,’ उनी भन्छन्, ‘कान्छो भाइले भोजपुरमा सुसाइड गर्नुअघि सपनामा झिँगटीका छाना सबै अचानक खसेका थि । त्यही छानामा झुन्डिएछ भाइ ।’ 

The tragic life of Ganesh Rasik

२०५१ मा पिखुवा खोलाको भीरबाट लडेर संसारबाट बिदा भएका अर्का भाइ श्यामको सम्झनामा उनी लेख्छन्, ‘एउटा फुर्तिलो नवयुवक सपनालाई पछ्याउँदै कवितामा बोल्ने गर्थ्यो– म पनि जीवनको सगरमाथा चढेर छाड्छु । विजयादशमी टीकाकै शुभसाइतमा हिँडेको त्यस नवयुवकलाई बाटैमा कुसाइतले छिर्के हान्यो, ‘ऐया आमा’ सम्म भन्न पाएन, अजङ्गको भीरबाट खसेर मर्‍यो ।’

२०६० मा माओवादीसँगको भिडन्तमा मृत्युवरण गरेका अर्का भाइ प्रहरी निरीक्षक प्रजुको यादमा उनी लेख्छन्, ‘एउटा दरिलो प्रौढ मृत्युलाई हाँक दिँदै भन्ने गर्थ्यो– म जन्में देशका लागि, बाँचें देशकै लागि, मरें देशकै लागि । आँधीतुफानले छोपेको रात, सबै जीवित रहे, मात्र ऊ र उसका एक सहयोगी सहिद भए ।’

रसिक ती भाइहरूको स्मृतिमा तैरिरहेका थिए, ‘सबैले अकाल मृत्युवरण गरे । ती थिए– मैले काँधमा बोकी हुर्काएका वंश, आस्था र प्रेमका तीन चुलो ढुंगा ।’ 

२०६७ मंसिरमा छोरा निमेश पनि कहिल्यै नफर्किने महायात्रामा हिँडे– फिक्कल इलामको घरमा सुतिरहेकै बेला । ‘मैले सिरक उठाएर हेरें । सिरानीबाट भुँइतिर टाउको लत्रिएको थियो । भुँइमा सुक्दै गरेका रगतका थोप्ला थिए । निधार छामें, चिसो थियो,’ रसिकले छोरा हिँडेको त्यो दिनको सम्झना गरे । रसिक त्यो दिन थर्रर काँपेका थिए । छेउमै थिए– बुहारी सुस्मिता, नातिनी निनीषा र क्यान्सरसँग लडिरहेकी पत्नी नीरा । त्यसपछि अहिलेसम्मै उनलाई भुँइ टेकेर उभिन गाह्रो भइरहेको छ । पुत्रवियोगको स्मृतिमा पस्छन् उनी, ‘छोरालाई सेन्ट जेभियर्स पढाएँ, एकदम ब्रिलियन्ट थियो त्यो । मेरो साथी थियो । उसको नाममा मेरो अंश जग्गा पास गरिदिएको केहीपछि नै ऊ खस्यो, ३२ वर्षको लाउँलाउँ–खाउँखाउँको उमेरमा । मनमा नमेटिने दाग बस्यो ।’ 

रसिककी पत्नी नीरालाई ब्रेस्ट क्यान्सरले भेट्यो, १४ वर्ष जुधेपछि त्यो त निको भयो । तर जब कोरोनाले समात्यो, कोरोनासँगको लडाइँमा उनी हारिन्, ०७८ मा रसिक–पत्नी नीरा पनि गइन् । ‘उनले पनि एकाएक साथ छाडेपछि त म एक्लो भएँ नि भाइ,’ रसिकले भने, ‘म एक्लो छु, तर छोडिगएका आफन्तहरू मसँग सपनामा गफिन आउँछन् ।’ 

कोरोनाले थलिएकी श्रीमती अस्पताल भर्ना भएका बेला पनि रसिकले भयानक सपना देखेका थिए । उनले सपनामा देखे– उनी श्रीमतीसँगै हिँडिरहेका थिए । पछाडि फर्किएर हरे– अहो ! उनी त माथि पुगिसकेकी रहिछिन् डाँडामा । ‘सपनामै मलाई छाडेर नजाऊ भनें तर उनी त गइन्– पहाडैपहाडको बाटो । म एकदम रोएँ, सपनामै रोएँ,’ रसिकले सुनाए । 

भोलिपल्ट अस्पताल पुग्दा श्रीमतीका हात–खुट्टा सुन्निएका थिए । उनलाई लाग्यो रे– मेरी श्रीमती छैनन्, गइसकिन् । सपनामा ‘पहाडको बाटो हिँडेको’ केही दिनमै श्रीमतीले संसार छाडिन् । ‘श्रीमतीसँग सपनामा गफ गर्थें । तर, उनलाई सपनामा नदेखेको पनि तीन/चार महिना भयो– झल्याकझुलुक आएजस्तो लाग्छ, हो कि होइन आकृति आउँदैन,’ रसिक भन्छन् । आफन्तले लगालग छाडिगए । रसिक रोइरहे । ‘मलाई डाँको छाडेर रुन आउँदैन, हुँक्क–हुँक्क हुन्छ । भित्रैभित्र रुन्छु । भाइहरू, श्रीमती र छोरो खस्दा खुब रोएँ,’ उनी भन्छन् । 

...

प्रोस्टेटसम्बन्धी समस्या भित्रिनु, त्यसलाई साधारण रूपमा लिनु, काम–काम र केवल काममा ध्यान दिनु अनि स्वास्थ्य ख्याल नगर्नुले नै यो क्यान्सर उपहारका रूपमा पाएँ भन्छन् रसिक । संगीत–नाट्य एकेडेमीमा नियुक्त भएपछि, कामको बोझ थपिएपछि आफ्ना लागि खासै ध्यान दिन नपाएको र क्यान्सर पत्तै नदिई शरीरमा फैलिएको उनको बुझाइ छ । 

जब संगीत–नाट्य एकेडेमीको कार्यकाल सकियो अनि उनी ओम हस्पिटल गए । डाक्टर सरोज धिताल, अमित उपाध्यायको टिमले घोषणा गर्‍यो– प्रोस्टेट क्यान्सर थर्ड स्टेजमा छ । डाक्टरहरूले ‘चाँडै अपरेसन गर्नुपर्छ’ भने, साता दिनमै अपरेसन भय । करिब ३ वर्ष औषधि खाए । 

क्यान्सर उपचारार्थ रसिक दिल्ली गए– राजीव गान्धी क्यान्सर हस्पिटलमा । त्यति बेला क्यान्सरको चौथो स्टेजमा थिए उनी । हस्पिटलले भन्यो– अब तपाईंलाई निको हुँदैन, घर जाने र मन लागेको कुरा गर्ने, खुसी रहने । नेपालमा नपाइने औषधि सेवन गर्छन् उनी, २८ दिन पुग्ने औषधिको १ लाख रुपैयाँ पर्छ, जुन भारतबाट मगाउनुपर्छ । ‘क्यान्सर अस्पताल बनाउँछन् तर औषधि दिन सक्दैन हाम्रो सरकार,’ उनमा गुनासो छ ।

...

शृंखलाबद्ध पारिवारिक दुर्घटनापछि रसिक यति भग्न भए कि उनले दुई/तीन पटक ‘सुसाइड’ कोसिस गरे– श्रीमतीले बचाइन् । 

जीवनमा आर्थिक संकट थपिएपछि उनी इलाम बस्थे, भुइँकुहिरो डुलिरहने फिक्कल चिया बगानको घरमा एक्लै । श्रीमती काठमाडौं बस्थिन् । ती डिप्रेसनका डरलाग्दा दिनमा उनले रुँदैरुँदै गीत लेखे–

मर्न मन लाग्छ मलाई, काल आउँदैन 

सपनीको लौरी टेकी हिँड्न सकिएन 

चिताएको धेरै कर्म गर्न सकिएन

उनले मनको भाव सुनाउने मानिस भेटेनन् । र, ‘मर्ने ख्याल’ आइरह्यो । अनि श्रीमतीलाई फोन गरेर रुँदै भने— ‘नीरा ! मलाई त मर्न मन लाग्छ हो । आत्महत्या गर्छु कि क्या हो ।’ उता रसिकको भुँइ हल्लिएको थियो, यता श्रीमती नीराको संसारै हल्लिएथ्यो । उनी पनि डाँको छोडेर रोइन्— हामी छौं त, तपाईंले हामीलाई हेर्नुपर्छ कि पर्दैन ? 

पत्नी नीरा रोएपछि रसिक छ्याङ्ग भए– सुर्जे उदाएजस्तो । उनलाई बोध भएछ– हत्तेरिका के सोचेछु मैले । त्यसपछि उनी तुरुन्तै काठमाडौं आए । र, एक्लै बस्दै बसेनन् । त्यसपछि फेरि घरमा हार्मोनियम गुन्जिन थाल्यो । उनले गाउन थाले– ओ याङ्जी नाना... । ‘संगीत, गीत र कविताले मेरो मृत्यु–इच्छालाई मार्‍यो । यो गीत–संगीत–काव्य त जीवन–ओखती पो रै’छ भाइ,’ उनको साधना–निचोड छ, ‘मलाई बचाउने केही चिज छ भने त्यो म्युजिक हो, जसले मलाई मेरो डिप्रेसनबाट मुक्ति दिलायो ।’ 

अचेल रसिकमा आत्महत्याको सोचाइ कहिल्यै आउँदैन, बरु सुटुक्कै पीडाबिनै र कसैलाई थाहै नदिई संसारबाट जान मन छ । अनि लामो समय बाँच्न पनि मन छैन उनलाई । ‘जति बाँच्छु त्यति परिवारलाई चिन्ता हुन्छ । कता न कता डिस्टर्ब गरिरहेको छु जस्तो लाग्छ । र, पनि एक–दुई वर्ष बाँच्छु कि जस्तो लाग्छ । अब मैले लेख्न सक्ने पनि अवस्था छैन । लेख्दा थाक्छु, बोल्दा पनि थाक्छु,’ उनी भन्छन् । 

The tragic life of Ganesh Rasik

जीवन उनलाई ‘सपनाको ऊर्जा’ लाग्छ । कत्ति सपना पूरा हुन्छन्, कत्ति हुँदैनन् । ‘र पूरा नभएका सपना सायद मृत्युपछि बाँचेकै ठाउँतिर भुँइकुहिरो भएर डुलिहिँड्छन्,’ उनी दार्शनिक सुनिन्छन् । 

रसिक सोचिबस्छन्– जीवन धेरै चिजमा बाँडियो, बरु एउटै चिजमा लाग्नुपर्नेरै’छ । उनी नेता हुन खोजे, गायक पनि, गीतकार पनि, संगीतकार पनि, लेखक पनि । ‘खासमा त म जीवनैभर अस्थिर भएँ । लेख्दा र संगीत गर्दा मात्रै स्थिर,’ उनी भन्छन् ।

...

रसिकको किशोरकाल धरान, ओखलढुंगा र भोजपुर डुलेरै बित्यो । किशोरकालको अन्त्यमा विराटनगरबाट डुल्दै–डुल्दै काठमाडौं पसे– अनेक गीत गाए, रत्न रेकर्डिङदेखि राष्ट्रिय नाचघरसम्मको महाप्रबन्धक भए । यस सहरमा मन अडिएन, त्यसपछि इलामको फिक्कल पुगे– त्यहाँ राजीनिति गरे, रेडियो फिक्कल एफएम चलाए र लामो काल बिताए । अहिले यो कंक्रिट काठमाडौंमा क्यान्सरमय दिक्कलाग्दो बुढेसकाल बिताइरहेका छन् ।

रसिकका हजुरबुवा हर्कराज राई ब्रिटिस लाहुरेको क्याप्टेन थिए, पहिलो विश्वयुद्ध लडेका । पहाडमा पढ्न पाइँदैनथ्यो, त्यसैले रसिकका बुवा नरोत्तम राईलाई हजुरबाले दार्जिलिङ पढ्न पठाए । दोस्रा विश्वयुद्ध हुने भएपछि हजुरबुबा राजीनामा दिएर पल्टनबाट देश फिरे र २००७ सालको क्रान्तिमा हिँडे । 

सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइरालाको संगतमा बुवा नरोत्तमले गाउँमै पुस्तकालय बनाएका थिए । त्यहाँ थियो– सेक्सपियरका सिरिज । पछि त्यो भताभुंग भयो, बुवा पनि बितिगए । बुवा गीत गाउँथे, लेख्थे । उनैबाट सुनेको दार्जिलिङको लोकगीत रसिक अहिले पनि बेलाबेला गुन्गुनाउँछन्– 

नेप्टी–चेप्टी दार्जिलिङ कस्तो छ

झिली र मिली बिजुली बत्ती इन्द्रैपुर जस्तो छ...

...

रसिकले भोजपुर हुँदै बग्ने पिखुवा खोला छोडेको निकै वर्ष भयो तर उनको स्मृतिमा पिखुवा खोला आइजाइ गरिरहन्छ । खोला बगरमा भाइहरूसँग बालुवाको घर बनाएका ती दिन अझै आइजाइ गर्छन् । बालखै छँदा त्यो खोला किनारमा उनले कैयौं पटक वनभोज खाएका छन् । एक पटकको वनभोजमा आमा पनि थिइन्, रसिकको हातबाट कुखुरो चिप्लियो । त्यो त झाडीभित्र पसेर बेपत्ता भयो । उनले बेस्सरी खप्की खाए । वनभोजको ‘भोज’ नै हराएपछि साग–भात खाएर घर फिरे । 

The tragic life of Ganesh Rasik

यो भागदौडमग्न सहरमा उनी सोचिबस्छन्– कहाँ पुगे पिखुवा खोलामा माछा मार्न दुवाली छोप्ने, पौडी खेल्ने साथीहरू ? साथीभाइ, गाउँले कहाँकहाँ पुगे ? ‘अहो ! कस्ता सुन्दर थिए ती दिन । सोच्छु, यो जीवन पनि त्यही खोलाकिनारमा ऊबेला बनाएको बालुवाको घरैजस्तो त रहेछ, ढलिजाने । पिखुवा त उस्तै बगिरहेकै छ, जीवन पो कुन टुंगोमा पुगेर बग्न रोकिने हो... !’ पिखुवा सुसाएझैं उनी सुसाइरहे । 

रसिककी आमा रत्नमाया राई पनि क्यान्सरले बितिन्, त्यसैले धेरै समय उनीसँग बिताउन नपाएको पीडा बेलाबेला छटपटिमा बदलिन्छ । ‘आमालाई म धेरै मिस गर्छु,’ बालक बनेका रसिक एकैछिन घोरिए । 

...

रसिकलाई लाग्छ– वास्तवमा जीवन जिउन जान्नुपर्दो रहेछ, आफ्नै स्वभावले । उनको आत्मबोध छ– कहिलेकाहीं म अन्तरमुखी स्वभावको छु, कहिलेकहिले आत्मकेन्द्रित । आफू हिँडिआएको बाटो सम्झँदा उनलाई लाग्छ, ‘श्रीमती छँदा ठूलो ऋणमा डुबेको थिएँ, जागिर थिएन । हिजो अभाव थियो, अहिले भौतिक सुख त छ, तर पारिवारिक सुख छैन । म कहीँ न कहीँ ठगिएको छु ।’ उनी थप्छन्, ‘एउटा दुःख छँदै छ– सानो छँदा आमाबाट टाढा भएँ, अहिले सबैबाट टाढा छु ।’

रसिकमा अब खास इच्छा–चाहना छैनन् । तर, स्वास्थ्यले साथ दिए (उनैको शब्दमा डेथ–बेडबाट) लेख्न चाहन्छन्– केही नजिकका साथी, श्रीमती, परिवारका सदस्यलाई चिठी । श्रीमतीलाई चिठीमा के लेख्लान् उनी ? ‘लेख्नेछु– श्रीमतीका लागि कि म इमानदार पति हुन सकिनँ, श्रीमतीसँगै नहुँदा म चुकें कहीँकतै ।’ र, चाहन्छन्– ती चिठी किताबका रूपमा आओस् । 

रसिकलाई जिन्दगीको माया छ तर भन्छन्, ‘अब जीवनको सीमा छ । कति माया गर्ने ? जति माया गर्‍यो, उति पीडा हुन्छ ।’ उनलाई लाग्छ– जीवन त सपनाजस्तो रहेछ, साह्रै चाँडो बित्यो अनि मृत्यु सत्य हो, त्यसको काम आफू हराएर जाने र बाँच्नेलाई पीडा दिनु रै’छ । 

उनले लामो संवादमा एउटै कुरा दोहोर्‍याए पटक–पटक । भनिरहे– म एक/दुई वर्षभित्र जान्छु नै । उनको अर्को पनि इच्छा छ । त्यो यस्तो छ, ‘म मरेपछि मलाई एकेडेमीको त्यो आँगनमा झिँगा भन्काएर नराख्नू, लासमाथि सेल्फी खिच्न नदिनू । गुमनाम तरिकाले लैजानू मेरो लास । आर्यघाटमा लैजानू र मेसिनमा हाल्दिनू । सक्छौ भने मेरो अस्तु भोजपुरमा लगेर राखिदिनू– श्रीमती र छोराको चिहानसँगै ।’ 

उनको अन्तिम इच्छाको भावुक श्रोता भइरहँदा यो पंक्तिकार भने कामना गरिरहेको थियो- घटित होस् एउटा चमत्कार ! यस्तो चमत्कार कि रसिक पूरै निको होऊन् । र, हार्मोनियम बजाएर नयाँ–नयाँ गीत कम्पोज गरिरहून् । 

दीपक कला, साहित्य र सामाजिक विषयमा लेख्ने सापकाेटा कान्तिपुर दैनिककाे साप्ताहिक परिशिष्टाङक काेसेलीका संयाेजक हुन् ।

तस्बिर:

Link copied successfully