आज देश-दुनियाँमा के-के भयो ?

फाल्गुन २, २०८१

कान्तिपुर संवाददाता

What happened in the country today?

काठमाडौँ — स्वर्गद्वारी गुठी किसानको समस्या समाधानका लागि कानुन बनाउन संसदीय समितिको निर्देशन, ७ महिनामा सरकारको आम्दानी ४४ र खर्च ४० प्रतिशत, विकास खर्च १९ प्रतिशतमा खुम्चियोदेखि शान्दार म:म ग्यास विस्फोटमा मृतकको संख्या ३ पुग्योसम्मका समाचार आज चर्चामा रहे । 

०००

स्वर्गद्वारी गुठी किसानहरूको वास्तविक पहिचानका आधारमा समस्या समाधानका लागि आवश्यक कानुनी व्यवस्था गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गर्न वास्तविक किसान पहिचान गरी उनीहरूले जग्गाधनी प्रमाणपत्र प्राप्त गर्ने गरी व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो । 

०००

चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार वार्षिक लक्ष्यको तुलनामा यो अवधिसम्म सरकारको आम्दानी ४४ दशमलव ८३ प्रतिशत र खर्च ४० दशमलव ५८ प्रतिशत छ । 

०००

जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेलमा प्रहरीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका एमाले निकट अनेरास्ववियुका नेता कमलराज जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार दिउँसो प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरिएका जोशीलाई ७ दिन हिरासतमा राखे अनुसन्धान गर्न अनुमति प्राप्त भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराले जानकारी दिए । 

०००

गत माघ २४ गते काठमाडौं महानगरपालिका-२८ कमलपोखरीस्थित शान्दार म:म हाउसमा ग्यास चुहिएर भएको आगलागीमा परी घाइते भएका थप १ जनाको मृत्यु भएको छ । उदयपुर गढी गाउँपालिका-७ घर भई हाल काठमाडौं कमलपोखरी बस्ने २२ वर्षीय प्रदीप तामाङको कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो । प्रदीपको शुक्रबार दिउँसो साढे २ बजे अस्पतालमै मृत्यु भएको उनका भिनाजु नवीन तामाङलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । 

०००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार भारतलाई अत्याधुनिक लडाकू जेटहरू बिक्री गर्ने प्रस्ताव गरेका छन् । साथै ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वका धेरै जसो क्षेत्रमा नयाँ अमेरिकी प्रशासनको दण्डात्मक दृष्टिकोणलाई अस्वीकार गर्ने बन्धनलाई पुनर्जीवित गर्दै व्यापार बढाउने वाचा गरेका छन् । 

कान्तिपुर

Link copied successfully