काठमाडौँ — जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेलमा प्रहरीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका एमाले निकट अनेरास्ववियुका नेता कमलराज जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
बिहीबार दिउँसो प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरिएका जोशीलाई ७ दिन हिरासतमा राखे अनुसन्धान गर्न अनुमति प्राप्त भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराले जानकारी दिए ।
माघ २७ गते काठमाडौं महानगरपालिका-९ एयरपोर्ट क्षेत्रमा ताप्लेजुङको फुङलिङ नगरपालिका-१ घर भई लैनचौर बस्ने दिनेश सिग्देल र डडेल्धुरा गन्यापधुरा गाउँपालिका-५ स्थायी घर भई लैनचौर बस्ने रमेश फुलारालाई पनि प्रहरीले पक्राउ गरेको थियो । उनीहरुमाथि अनुसन्धान जारीरहेको बोहराले बताए । उनीहरूले गत माघ २४ मा राति डिउटीमा रहेका दुई प्रहरीमाथि ठमेलमा कुटपिट गरेका थिए । पक्राउ परेकाहरू अमृत साइन्स क्याम्पसका विद्यार्थी नेता हुन् ।
क्यूआरटी मोटरसाइकलमा रहेका दुई प्रहरीलाई उनीहरुले कुटपिट गरेका थिए । पक्राउ परेकाहरुलाई प्रहरीले अभद्र व्यवहार मुद्दामा कारबाही अघि बढाएको जनाएको छ ।
