आज देश दुनियाँमा के-के भयो ? 

माघ २९, २०८१

कान्तिपुर संवाददाता

What happened in the world today?

काठमाडौँ — जसपा नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने, मूल्यवृद्धिलाई नै प्रोत्साहन दिनेगरी सरकारले कालोबजारी ऐनलाई संशोधन गरेको भन्दै सांसदहरुको विरोधदेखि हमासले बन्धक रिहाइ रोक्ने बताएपछि रिसाए ट्रम्पसम्मका खबर आज चर्चामा रहे । 

०००

जसपा, नेपालले संघीय संसद्का दुवै सदनमा भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने भए पनि अध्यादेशका अन्य विषयमा भने आफूहरू संवाद र छलफलका निम्ति तयार रहेको बताएको छ । प्रथम उपाध्यक्ष राजकिशोर यादवले सरकारले ल्याएका अन्य ५ वटा अध्यादेशमा आफूहरू छलफलमा खुला रहेको बताए । 

०००

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा मुछिएका गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशीले जिल्ला अदालत रूपन्देहीको पुर्पक्षमा राख्ने आदेशविरुद्ध मंगलबार नै उच्च अदालतमा अपिल गरेका छन् । जिल्ला अदालत रूपन्देहीका न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले जोशीलाई सोमबार पुर्पक्षका लागि कारागार पठाउने फैसला गरेको थियो ।  

०००

मूल्यवृद्धिलाई नै प्रोत्साहन दिनेगरी सरकारले कालोबजारी ऐनलाई संशोधन गरेको आरोप सांस‌दहरुले लगाएका छन् । मंगलबार राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा बोल्दै अधिकांश सांसदहरुले यस्तो धारणा राखेका हुन् । सांसदहरुले सरकारले मूल्यवृद्धिलाई रोक्नु पर्ने ठाउँमा प्रोत्साहन दिने गरी कानुन ल्याउनु उचित नभएको बताए ।  

०००

प्यालेस्टिनी समूह हमासले बन्धकहरूको रिहाइ रोक्ने बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रोशित बनेका छन् । इजरायलले थुनामा रहेका थप प्यालेस्टिनी बन्दीहरू रिहा गर्ने गरी शनिबार हमासले गाजामा बन्धक बनाइएका तीन जना इजरायलीलाई मुक्त गर्ने योजना थियो । तर इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको बताउँदै हमासले बन्धक रिहाइ स्थगित गरेको जनाएको हो ।  

०००

भारतीय टोली थन्डरबोल्ट नर्थ युनाइटेडलाई ३–० ले हराउँदै अर्को पाहुना टोली ब्ल्याक बुल्स फुटबल क्लब उज्वेकिस्तान २४ औं आहा–रारा पोखरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार सिक्किमेली टोलीलाई हराउँदै ब्ल्याक बुल्सले थ्रीस्टारसँगको भेट पक्का गरेको हो । पहिलोपल्ट सहभागी दुवै पाहुना टोलीमध्ये एसियन च्याम्पियन्स लिग खेलेको ब्ल्याक बुल्स उत्कृष्ट प्रदर्शन गर्दै आहा–राराको उपाधि यात्रामा अगाडि बढेको छ ।  

कान्तिपुर संवाददाता

Link copied successfully