पोखरा — भारतीय टोली थन्डरबोल्ट नर्थ युनाइटेडलाई ३–० ले हराउँदै अर्को पाहुना टोली ब्ल्याक बुल्स फुटबल क्लब उज्वेकिस्तान २४ औं आहा–रारा पोखरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।
पोखरा रंगशालामा मंगलबार सिक्किमेली टोलीलाई हराउँदै ब्ल्याक बुल्सले थ्रीस्टारसँगको भेट पक्का गरेको हो ।
पहिलोपल्ट सहभागी दुवै पाहुना टोलीमध्ये एसियन च्याम्पियन्स लिग खेलेको ब्ल्याक बुल्स उत्कृष्ट प्रदर्शन गर्दै आहा–राराको उपाधि यात्रामा अगाडि बढेको छ । खेलको ३८ औं मिनेटमा इस्लोमजोन अब्दुकोदिरोभले गोल गर्दै अग्रता दिलाए । मैदानको बायाँपट्टि साभकात्जोन सात्तोरोभले उपलब्ध गराएको पासलाई अगाडि बढाउँदै सेकेन्ड बार च्यापेर उनले गरेको देब्रे खुट्टाको प्रहार गोलमा परिणत भएको थियो ।
थन्डरबोल्टका कप्तान सोनाम जाङ्पा भुटियालाई बिट गर्दै इस्लोमजोनले अगाडि बढाएको बलमा गोलरक्षक लाक्पा डी भुटियाले कुनै मौका पाएनन् । गोल गरेलगत्तै भावुक हुँदै इस्लोमजोनले आफ्नो छोरीको तस्बिर अंकित जर्सी प्रदर्शन गरेका थिए ।
खेलको ७३ औं मिनेटमा साइदजमोल दाभलातजोनोभले अग्रता दोब्बर बनाए । वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका उनले मिडफिल्डर साभकात्जोनले दायाँ भागबाट उपलब्ध क्रसलाई कलेक्ट गर्दै सहज गोल गरेका थिए ।
अघिल्ला दुई गोलमा एसिस्ट गरेका साभकात्जोनले खेलको ७५ औं मिनेटमा उत्कृष्ट गोल गर्दै सेमिफाइनल यात्रा सुनिश्चित गरे । उनले बक्स बाहिरबाट प्रहार गरेको बल सिधै गोलमा परिणत हुँदा विपक्षी गोलरक्षकले कुनै भेउ पाएनन् । खेलमा ब्ल्याक बुल्सका अलिजोन अलिजोनोभ प्लेयर अफ द म्याच घोषित भए ।
ब्ल्याक बुल्सले फागुन १ मा थ्रीस्टारसँग सेमिफाइनल खेल्नेछ । पाँचपल्टको उपाधि विजेता थ्रीस्टारले क्वाटरफाइनलमा मछिन्द्र क्लबलाई टाइब्रेकरमा हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । ब्ल्याक बुल्स बाई पाएर क्वाटरफाइनल खेलेको थियो ।
बुधबार पहिलो सेमिफाइनल खेल विभागीय टिम नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ । यो खेल आहा–राराको हालसम्मको २ सय ५० औं खेल हुनेछ । सर्वाधिक ६ पल्टको उपाधि विजेता पुलिसले उद्घाटन खेलमा आयोजक सहारा क्लब र क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज क्लब, यूकेलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो ।
‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइजले एनआरटी र क्वाटरफाइनलमा साविक विजेता त्रिभुवन आर्मीलाई हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।
