प्रहरीको उच्च ओहदामा रही हाल अवकाश भए पनि समाजमा ल एण्ड अर्डर मेन्टेन गर्नुपर्ने व्यक्तिले अन्यलाई दोष थुपारी आफूले उन्मुक्ति पाउन मात्र खोजेको न्यायाधीशको ठहर
बुटवल — बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा मुछिएका गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशीले जिल्ला अदालत रूपन्देहीको पुर्पक्षमा राख्ने आदेशविरुद्ध मंगलबार नै उच्च अदालतमा अपिल गरेका छन् ।
जिल्ला अदालत रूपन्देहीका न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले जोशीलाई सोमबार पुर्पक्षका लागि कारागार पठाउने फैसला गरेको थियो । त्यसका विरुद्ध ७३ नं. निवेदनमार्फत जोशी उच्च अदालत तुलसीपुर बुटवल इजलासमा निवेदन दर्ता गरेका हुन् ।
एकै प्रकृतिको सुप्रिमकै मुद्दामा रास्वपाका सभापति एवं गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रवि लामिछाने १ करोड धरौटीमा रिहा भएका थिए । सोमबार अदालत उपस्थित भएका जोशीको सोमबार नै न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासमा पेसी परेको थियो । पेसीमा सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल र गोकर्ण घिमिरेले बहस गरेका थिए । जोशीका तर्फबाट मनोजकुमार चौधरी र अपूर्व खतिवडाले बहस गरेका थिए ।
सोमबार नै थुनछेक बहस सकिएपछि न्यायाधीश घिमिरेले ‘सहकारीको रकम सिधै कानुनी व्यक्तिले लिन नपाउने कानुनी व्यवस्था रहेको अवस्थामा निज संचालक रहेको गोर्खा मिडिया प्रालिमा सुप्रिम बचतबाट गएको रकम आफूले उक्त मिडियामा ल्याएको नभई सहप्रतिवादी गितेन्द्रबाबु राईले ल्याएको भनी दोस्रो व्यक्तिमा आरोप थुपारी पन्छिने अवस्थाको प्रतिवादीको बयान जिकिरसँग सहमत हुन सक्ने अवस्था नरहेको र निज प्रतिवादी नेपाल प्रहरीको उच्च ओहदामा रही हाल अवकाश भए पनि समाजमा ल एण्ड अर्डर मेन्टेन गर्नुपर्ने कार्यमा निजको भूमिका अहम् रहनुपर्नेमा फरार रहेका गितेन्द्रबाबु राईउपर आरोपित कसुरको दोष थुपारी आफू सो आरोपबाट उन्मुक्ति पाउन मात्र खोजेको अवस्थामा निजले जानीजानी अभियोग बमोजिमको कसूर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार नदेखिँदा पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा हाललाई प्रतिवादी छविलाल जोशीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ र कानुनबमोजिमको थुनुवा पुर्जी दिई थुनामा राख्न स्थानीय कारागार पठाउनु’ भन्ने आदेश गरेका थिए ।
सो आदेश र ठहर खण्डमा उल्लेखित विषय पूर्वाग्रही रहेकाले उक्त आदेश बदर माग गर्दै निवेदन दर्ता गराइएको अधिवक्तासमेत रहेका जोशीका छोरा रोचक जोशीले बताए । ‘आदेश पूर्वाग्रही रहेकाले त्यसको बदर माग गर्दै निवेदन दर्ता गराएका छौं,’ उनले भने, ‘अबको प्रक्रियाको विषयमा छलफलमै छौं ।’ उच्च अदालत तुलसीपुर बुटवल इजलास कार्यालयका सूचना अधिकारी रामबहादुर कुँवरले रूपन्देही जिल्ला अदालतको थुनामा पठाउने गरी भएको आदेशउपर निवेदन दर्ता भएको बताए । ‘सुप्रिम सहकारी ठगी मुद्दाको रूपन्देही जिल्ला अदालतको थुनामा पठाउने गरी भएको आदेशउपर थुनामा नभई बाहिर रहेर मुद्दा पुर्पक्ष गर्न पाउँ भन्ने ७३ नं. बमोजिमको निवेदकको निवेदन दर्ता भएको छ ।’
यसअघि जोशी पोखराको सूर्य दर्शन सहकारीमा ८८ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ५० लाख धरौटीमा रिहा भएका थिए । उनीविरुद्ध चितवनको सहारा सहकारी ठगीमा पनि मुद्दा दर्ता भएको छ । एकै प्रकृतिको सुप्रिम सहकारी ठगी मुद्दामा रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रवि लामिछाने भने रूपन्देही जिल्ला अदालतबाट १ करोड धरौटीमा रिहा भएका थिए । लामिछानेलाई रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीले धरौटीमा छोड्ने आदेश गरेका थिए ।
सुप्रिम सहकारी ठगीमा २२ जनाविरुद्ध पुरक अभियोग दर्ता भएको थियो । पुरक अभियोगमा ५५ करोड रुपैयाँ बिगो कायम गरिएको छ । सुप्रिमबाट जोशीका नाममा व्यक्तिगत २ करोड ५० लाख र सामूहिक दायित्वअन्तर्गत १० करोड ९९ लाख ऋण लिएको देखिएको छ । यसअघि गत वैशाखमा गितेन्द्रबाबु राईसहित २८ जनालाई प्रतिवादी बनाएर सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो । २८ जनामध्ये पनि १७ जनाविरुद्ध थप अभियोगसहितको मुद्दा पनि दर्ता भएको छ ।
