काठमाडौँ — सरकार सातै महिनामा असफल भएको माओवादी अध्यक्ष दाहालको दलिल, रेल सञ्चालन तथा व्यवस्थापनमा आवश्यक जनशक्तिलाई तालिम दिन भारत तयार, रवि लामिछानेलाई ५४ लाख रूपैयाँ घरौटीमा छाड्न आदेशदेखि कमलपोखरीस्थित शानदार म:ममा ग्यास विस्फोटसम्मका खबर आज चर्चामा रहे ।
000
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सात महिनाको अवधिमा सरकारका कामले गति नलिएको उल्लेख गर्दै सर्वसाधारणमा निराशा बढ्दै गएको बताएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकार अध्यादेशको बाटोमा अघि बढ्न खोजेको, मुलुकका आर्थिक अवस्थामा सुधार गर्न नसकेको, विपक्षी दलहरूमाथि राजनीति प्रतिशोध लिएको, भ्रष्टाचार छानबिन अवरुद्ध गरेको लगायतका दर्जनौं आरोप लगाएका छन् ।
000
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो । भेटमा राजदूत श्रीवास्तवले नेपाल–भारत रेल मार्गका बारेमा कुरा उठाएका थिए ।
000
साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई ५४ लाख रूपैयाँ धरौटीमा छाड्न चितवन जिल्ला अदालतले आदेश गरेको छ । मंगलबार दायर भएको उक्त मुद्दामा बुधबारबाट सुरू भएको थुनछेक बहस सकिएपछि बिहीबार जिल्ला न्यायाधीश दयाराम ढकालले यस्तो आदेश गरेको चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।
000
काठमाडौँको कमलपोखरीस्थित शानदार म:ममा ग्यास विस्फोट हुँदा ११ जना घाइते भएका छन् । दुई जना घाइतेको अवस्था गम्भीर रहेको छ । घाइतेहरूलाई उपचारका लागि कीर्तिपुरस्थित जलन अस्पताल लगिएको छ । बिहीबार बिहान ग्यास लिक भएर विष्फोट भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यले जानकारी दिए ।
000
नेदरल्यान्ड्सले त्रिकोणात्मक महिला ट्वान्टी-२० क्रिकेट शृंखलामा बिहीबार थाइल्यान्डलाई रोमाञ्चक खेलमा १ विकेटले पराजित गरेपछि उपाधिको निर्णय अन्तिम दिनको खेलमा पुगेको छ । नेदरल्यान्ड्सले १ सय १० रनको लक्ष्य अन्तिम बलमा पूरा गरेको थियो । टोलीले अन्तिम ओभरमा ८ रन बनाउदै स्मरणीय विजय हात पारेको थियो । सिल्भर सिगर्सले अन्तिम बलमा २ रन बनाउदै विजयी रन बटुलेकी थिइन् ।
