काठमाडौँ — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो ।
भेटमा राजदूत श्रीवास्तवले नेपाल–भारत रेल मार्गका बारेमा कुरा उठाएका थिए । यस्तै उनले रेल सेवा सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक जनशक्तिलाई तालिम तथा प्रशिक्षण उपलब्ध गराउन भारत तयार रहेको समेत बताए ।
त्यसक्रममा मन्त्री दाहालले नेपालको रेलवे तथा विकासका अन्य क्षेत्रमा भारतले पुर्याएको योगदानको प्रशंसा गरे । आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्ने समेत उनले उल्लेख गरे ।
भेटमा मन्त्रालयका सचिव केशवकुमार शर्माले मन्त्रालयसँग सरोकार राख्ने विषयमा दुई देशका अधिकारीहरूबीच छिट्टै बैठक बस्ने विश्वास व्यक्त गरे ।
उक्त भेटमा रेल विभागका महानिर्देशक अजयकुमार मूल, सडक विभागका महानिर्देशक रामहरि पोखरेल, विकास सहायता समन्वय तथा गुणस्तर महाशाखाका प्रमुख सुशीलबाबु ढकाल, अन्य सहसचिवहरू लगायतका अधिकारीहरू सहभागी रहेको थियो ।
