आज देश-दुनियाँमा के-के भयो ?

माघ ११, २०८१

कान्तिपुर संवाददाता

What happened in the country today?

काठमाडौँ — सिद्धबाबा सुरुङमार्ग छिचोलियो, सगरमाथाको सलामी दस्तुर १५ हजार डलर पुर्‍याइयोदेखि अमेरिकामा ट्रम्पको निर्वासन अभियानअन्तर्गत सयौं आप्रवासी पक्राउसम्मका खबर आज चर्चामा रहे । 

०००
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३, दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्ग छिचोलिएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल सम्बोधन गरेपछि सुरुङमार्गको ब्रेकथ्रु भएको हो । यसअघि प्रधानमन्त्री ओली भौतिक रूपमै उपस्थित हुने योजना भए पनि अन्तिम समयमा स्वास्थ्य अवस्थाका कारण भर्चुअल रूपमा ब्रेक थ्रु गरिएको हो ।

०००

सरकारले सगरमाथा आरोहणमा विदेशीलगायतका आरोहीबाट संकलन गर्ने सलामी दस्तुरलाई ११ हजार अमेरिकी डलरबाट १५ हजार पुर्‍याएको छ । पर्यटन विभागका महानिर्देशक नारायणप्रसाद रेग्मीका अनुसार हिमाल आरोहणसम्बन्धी दस्तुर हेरफेरलगायतका विषयमा संशोधन भएको पर्वतारोहण नियमावलीलाई मन्त्रिपरिषद्ले हालै पारित गरेर सगरमाथा आरोहणमा विभागले तोकेको ११ हजार सलामी दस्तुरलाई १५ हजार अमेरिकी डलर पुर्‍याइएको हो । 

०००

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विगतका कमीकमजोरी सुधार्दै सच्चिने प्रयास गरिरहेको बताएका छन् । शुक्रबार दिउँसो तुलसीपुरको अरनिको मैदानमा भएको पार्टीको नगर अधिवेशन उद्घाटन तथा खबरदारीसभालाई सम्बोधन गर्दै उनले विगतमा कमजोरी भएको स्वीकार गरे । 

०००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामूहिक निर्वासन अभियान सुरु गरेसँगै अमेरिकामा रहेका सयौँ आप्रवासीलाई बिहीबार पक्राउ गरिएको र केहीलाई सैनिक विमानमार्फत देश बाहिर लगिएको ह्वाइट हाउसले जनाएको छ । राष्ट्रपति ट्रम्पले शुक्रबार क्यालिफोर्निया र नर्थ क्यारोलिनाको आफ्नो पहिलो भ्रमण गर्ने तयारी गरिरहेका बेला आप्रवासीहरूलाई पक्राउ गरिएको खबर सार्वजनिक भएको हो ।  

०००

आइसीसी यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको प्लेअफ खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । कप्तान पूजा महतोको उत्कृष्ट खेल प्रदर्शनमा नेपालले मलेसियालाई सात विकेटले हराएको हो । मलेसियाको जोहर क्रिकेट एकेडेमी ओभलमा नेपालले टस जितेर पहिला फिल्डिङ राजेको थियो । 

कान्तिपुर

Link copied successfully