हामी सच्चिन्छौं, ०६४ जस्तै फेरि मत दिनुहोस् : अध्यक्ष दाहाल

माघ ११, २०८१

दुर्गालाल केसी

We are correct, vote again like 064: Speaker Dahal

दाङ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विगतका कमीकमजोरी सुधार्दै सच्चिने प्रयास गरिरहेको बताएका छन् ।

शुक्रबार दिउँसो तुलसीपुरको अरनिको मैदानमा भएको पार्टीको नगर अधिवेशन उद्घाटन तथा खबरदारीसभालाई सम्बोधन गर्दै उनले विगतमा कमजोरी भएको स्वीकार गरे । ‘२०६४ सालमा मत पाए पनि आफ्नै कमजोरीले सफल हुन सकेनौं,' उनले भने,'तेस्रोपटक प्रधानमन्त्री हुँदा मात्रै गल्ती, कमजोरी थाहा भयो अनि सुधारका कामहरू सुरू गर्‍यौं ।’ त्यही सुधारका कामअन्तर्गत भ्रष्टाचारविरूद्ध कदम चाल्दा सरकार ढाल्ने षड्यन्त्र भएको उनले बताए ।

कमीकमजोरी सुधारेर समाज र देश परिवर्तनका लागि नेतृत्व गर्ने चाहना रहेको बताउँदै उनले अब २०८४ मा ०६४ मा जस्तै मत दिन आग्रह गरे । ‘म जीवन रहेसम्म सुशासन र परिवर्तनका लागि काम गर्न चाहन्छु,’ उनले भने, 'अब कमजोरी हुँदैन । म आफूलाई सुधार्न तयार छु । अब जनचाहनाबमोजिम काम गर्छु ।’

माओवादी बिग्रियो, टुटफुट भयो भन्ने गुनासो रहेको बताउँदै उनले अब माओवादी आन्दोलनका सबै पक्षलाई एकजुट बनाउने योजना रहेको जानकारी दिए । ‘अब हामी सच्चिएर सबै माओवादी एकजुट हुने प्रयास गर्छौं,’ उनले भने, 'हामीले बहुमत पाए काम गरेर देखाउँछौं ।’

We are correct, vote again like 064: Speaker Dahal

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully