आज देश-दुनियाँमा के-के भयो ? 

माघ ९, २०८१

कान्तिपुर संवाददाता

What happened in the world today?

काठमाडौँ — आज सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई लेखा समितिको निर्देशन, रवि लामिछानेको बयान सकियो, बिहीबार थुनछेक बहसदेखि महिला यू–१९ विश्वकप क्रिकेटमा अष्ट्रेलियासँग नेपाल पराजितसम्मका समाचार चर्चामा रहे ।

000

रास्वपाका सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेविरुद्धको सहकारी ठगी एवं संगठित अपराध मुद्दामा लामिछानेको बयान सकिएको छ । लामिछानेविरूद्धको पेसी जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा परेको थियो । योगीको इजलासमा दिउँसो १ बजेबाट भएको बयान सकिएको अदालतका श्रेष्तेदार उपसचिव यज्ञमूर्ती ज्ञवालीले बताए । 

000

सार्वजनिक लेखा समितिले सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको प्रतिनिधसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकले पछिल्लो समय अस्वाभाविक रुपमा बढेको सिमेन्टको मूल्यमा सरकारले हस्तक्षेप गरी नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको हो ।  

000

सुनको मूल्य आज प्रतितोला एक लाख ६० हजार पुगेको छ । मङ्गलबार प्रतितोला एक लाख ५८ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक हजार नौ सयले बढेर एक लाख ६० हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

000

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले सपथ लिएको केही घण्टामा चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनले भिडियो कल गरेका छन् । दुई नेताबीच द्विपक्षीय सम्बन्धलाई 'अझै उचाइमा' पुर्‍याउने सहमति भएको चिनियाँ दुवै देशका सरकारी सञ्चार माध्यमले जनाएका छन् ।  

000

आईसीसी महिला यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ । मलेसियाको युकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग ८३ रनले पराजित भएको हो । 

कान्तिपुर संवाददाता

Link copied successfully