रवि लामिछानेको बयान सकियो, बिहीबार थुनछेक बहस हुने

लामिछानेलाई जिम्मा जमानतमा राख्न न्यायाधीशको आदेश

माघ ९, २०८१

घनश्याम गौतम

Ravi Lamichhane's statement is over, there will be a closed debate on Thursday

बुटवल — रास्वपाका सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेविरुद्धको सहकारी ठगी एवं संगठित अपराध मुद्दामा लामिछानेको बयान सकिएको छ ।

लामिछानेविरूद्धको पेसी जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा परेको थियो । योगीको इजलासमा दिउँसो १ बजेबाट भएको बयान सकिएको अदालतका श्रेष्तेदार उपसचिव यज्ञमूर्ती  ज्ञवालीले बताए । ‘अब बिहीबार थुनछेक बहस सुरू हुन्छ,’ उनले भने, ‘थुनछेक बहस नहुँदासम्मका लागि जिम्माजमानीमा राख्न आदेश भएको छ ।’ आदेशपछि लामिछानेलाई वकिल र परिवारको जिम्मा लगाइएको उनले बताए ।

लामिछानेविरुद्ध आइतबार बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा अदालतमा मुद्दा दर्ता भएको थियो । सोही मुद्दाको प्रतिवादका लागि लामिछाने बुधबार  १० बजे नै अदालत पुगेका थिए । उनी पुगेलगत्तै अदालतले उनलाई हाजिर गराएर न्यायाधीशहरूको गोलाप्रथाबाट मुद्दाको पेसी चढाएको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलको पूरक अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले दर्जन बढी तथ्य र प्रमाणसहित रवि लामिछाने, छविलाल जोशीसहित पूरकमा १४ र सुरु मुद्दाका ८ सहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा पूरक मुद्दा दायर गरेको थियो ।

२२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ बिगो दाबी गरिएको छ । लामिछानेविरुद्ध २ करोड व्यक्तिगत बिगो तोकिएको छ । सामूहिकतर्फ १० करोड ९९ लाख रुपैयाँको छुट्टै बिगो माग गरिएको छ ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully