काठमाडौँ — आज अदालतमा उपस्थित हुन रवि लामिछाने भैरहवामा, धरानको खानेपानीको समस्या चाँडै समाधान हुने मन्त्रीको भनाइदेखि अम्पायरबारे फेसबुकमा लेखेपछि क्यानको कारबाहीमा परे सन्दीपसम्मका खबर चर्चामा रहे ।
000
रास्वपाका सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने बुधबार जिल्ला अदालत रूपन्देहीमा उपस्थित हुने भएका छन् । उनीविरुद्ध सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार अदालतमा १० करोड ९९ लाख बिगोसहितको मुद्दा दायर भएको थियो । सोही मुद्दाको प्रतिवादका लागि लामिछाने भैरहवा आएका हुन् ।
000
उद्योगीहरूले सरकारसँग मिलोमतो गरेर सिमेन्टको मूल्य बढाएको सांसदहरूले आरोप लगाएका छन् । सरकारले मूल्य नियन्त्रणमा उदासिनता देखाएको र सिमेन्ट उद्योगीहरूले सिमेन्टको मूल्य दोब्बर बढाएको भन्दै सत्तारुढ दल एमाले र कांग्रेसकै सांसदहरूले असन्तुष्टि व्यक्त गरेका हुन् ।
000
खानेपानीमन्त्री प्रदीप यादवले धरानवासीका खानेपानीका समस्या चाँडै समाधान गरिने आश्वासन दिएका छन् । धरानवासीको खानेपानी समस्या समाधानको माग गर्दै आज मन्त्रालयमा आएका धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (हर्क साम्पाङ) सँगको छलफलका क्रममा मन्त्री यादवले धरानको खानेपानीको समस्या समाधानका लागि मन्त्रालयले आवश्यक पहल चालिरहेको र चाँडै समाधान हुने बताएका हुन् ।
000
नेपाल क्रिकेट संघ(क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई अनुशासनको कारबाही गरेको छ । जय ट्रफीका क्रममा सामाजिक सञ्जालमा नेपालका अम्पायरको गुणस्तरबारे टिप्पणी गरेपछि उनलाई कारबाही गरिएको हो ।
000
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस-युक्रेन संकटका विषयमा नयाँ अमेरिकी प्रशासनसँग वार्ता गर्न खुला रहेको बताएका छन् । डोनाल्ड ट्रम्पले ४७ औं अमेरिकी राष्ट्रपतिका रूपमा शपथ लिएलगत्तै पुटिनको यस्तो भनाइ सार्वजनिक भएको हो । रूसको सुरक्षा परिषद्का सदस्यहरूसँगको बैठकमा पुटिनले यस्तो बताएका हुन् ।
