धरानका मेयरलाई मन्त्रीले भने : धरानको खानेपानीको समस्या चाँडै समाधान हुन्छ

माघ ८, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — खानेपानीमन्त्री प्रदीप यादवले धरानवासीका खानेपानीका समस्या चाँडै समाधान गरिने आश्वासन दिएका छन् । धरानवासीको खानेपानी समस्या समाधानको माग गर्दै आज मन्त्रालयमा आएका धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (हर्क साम्पाङ) सँगको छलफलका क्रममा मन्त्री यादवले धरानको खानेपानीको समस्या समाधानका लागि मन्त्रालयले आवश्यक पहल चालिरहेको र चाँडै समाधान हुने बताएका हुन् ।

छलफलका क्रममा मन्त्री यादवले भने, 'जग्गा प्राप्तिको सुनिश्चितताको जिम्मा धरान उपमहानगरपालिकाले गर्नुपर्छ । योजना छनोट भइसकेको छ । दीर्घकालीन रूपमा खानेपानीको समस्या हामीले समाधान गर्ने छौँ ।'

सोही क्रममा मन्त्री यादवले धरानवासीप्रति आफू सधैँ सकारात्मक रहेको र खानेपानीको समस्या समाधानका लागि एकीकृत खानेपानी आयोजनाअन्तर्गत एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा यो वर्ष खानेपानीका लागि टेन्डर अह्वान गर्ने प्रतिबद्धता जनाए । 

धरानवासीलाई खानेपानीको व्यवस्था गर्नका लागि टेन्डर आह्वान गरिएको सूचनासहितको पत्र बोकर निकट भविष्यमै आफू धरान आउनेसमेत मन्त्री यादवले नगरप्रमुख राईलाई आश्वासन दिएका थिए । उनले भने, 'मेयरसाब खानेपानीको योजनाका लागि अन्त कतै नगएर खुसीसाथ यहीँबाट धरान फर्किनुस् । खानेपानीको व्यवस्था गर्नका लागि टेन्डर आह्वान गरिएको पत्र म आफैं बोकेर चाडै धरान आउँछु ।'

धरानमा खानेपानीको ठूलो समस्या भएको र उपमहानगरको बजेटले धान्न सक्ने जति आफूले काम गरेको र धान्न नसक्ने भएपछि खानेपानीका लागि सिंहदरबारमा आएको नगरप्रमुख हर्कराज राईले मन्त्री यादवलाई सुनाएका थिए । 'उपमहानगरको बजेटले धान्न सकेको जति मैले खानेपानीका लागि काम गरेँ, अब धान्न नसक्ने भयो । धराने नागरिकका लागि खानेपानी योजनामा विनियोजन गरिदिनु पर्‍यो,' नगरप्रमुख राईले आग्रह थियो ।

कान्तिपुर

Link copied successfully