आज दिनभर देश-दुनियाँमा के-के भयो ?

माघ ७, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — संसद्को हिउँदे अधिवेशन डाक्ने मन्त्रिपरिषद्को निर्णयदेखि डोनाल्ड ट्रम्पले अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा शपथ लिँदै गरेको समाचार सोमबार कान्तिपुरमा प्रकाशित भएका छन् । 

मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन माघ १८ गतेदेखि बोलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते आह्वान गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए । विपक्षी दलहरूले संसद् अधिवेशन नबोलाई अध्यादेशबाट सरकार चलाउन खोजिरहेको भन्दै आलोचना गरिरहेका बेला मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन बोलाएको हो । 

त्यस्तै काठमाडौं जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी ठगीका मुख्य अभियुक्तमध्येका एक पूर्वडीआईजी छविलाल जोशीलाई ५० लाख धरौटीमा छाड्न आदेश गरेको छ । न्यायाधीश ठाकुरप्रसाद खरेलको एकल इजलासले दुई दिनको सुनुवाइपछि जोशीलाई पूर्पक्षका लागि धरौटीमा छाड्ने आदेश गरेको हो ।

त्यसैगरी आजको आर्थिक खबरमा निर्यात व्यापार वृद्धिसम्बन्धी विषय छ । मुलुकको निर्यात व्यापार ३२ प्रतिशतले बढेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको व्यापारको तथ्यांकअनुसार ६ महिनामा ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिमा ३१.७८ प्रतिशत बढी हो । आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा ७४ अर्ब ९६ करोड ८० लाख रुपैयाँको निर्यात भएको थियो ।

त्यस्तै इजरायल-हमास युद्धविरामपछि पहिलो चरणमा कञ्चनपुरमा विपिन जोशी नछुटेपछि सरकारले कूटनीतिक पहल गरेको छ । विपिन जोशीको रिहाइको पहल गरिदिन परराष्ट्रमन्त्री आरजु राणाले इजिप्टका विदेशमन्त्रीसँग फोनवार्ता रेकी छिन् । हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै परराष्ट्रमन्त्री राणाले इजिप्टका विदेशमन्त्री डा बदर अब्देल-अतिसँग आज फोनवार्ता गरेकी हुन् ।

त्यस्तै आजको अन्तर्राष्ट्रिय समाचार डोनाल्ड ट्रम्पले अमेरिकाको ४७ औं राष्ट्रपतिको शपथ लिँदै, २ सय कार्यकारी आदेश जारी गर्ने तयारीसम्बन्धी रहेको छ । अमेरिकामा गत नोभेम्बरमा भएको चुनावबाट राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । ट्रम्पले सोमबार १२ बजे (नेपाली समयानुसार १:४५ बजे) अमेरिकाको ४७ औं राष्ट्रपतिको शपथ लिँदैछन् । ट्रम्पलाई प्रधानन्यायाधीश जोन रोबर्ट्सले क्यापिटल रोटुन्डामा आयोजित विशेष समारोहमा सपथ गराउनेछन् । 

त्यस्तै आजको खेलकुदसम्बन्धी समाचार आईसीसी यू-१९ विश्वकपमा नेपालको प्रदर्शनबारे रहेको छ । नेपालले विश्वकपमा लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा बंगलादेशसँग हारेको नेपाल दोस्रो खेलमा भने स्कटल्यान्डसँग एक विकेटले पराजित भएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully