काठमाडौँ — मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन माघ १८ गतेदेखि बोलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते आह्वान गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए ।
मन्त्री यादवका अनुसार संसद्को हिउँदे अधिवेशन माघ १८ गते शुक्रबार दिउँसो १ बजे बोलाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको हो ।
नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
सोमबार नै संसद् अधिवेशन बोलाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच समेत छलफल भएको थियो । हिउँदे अधिवेशन नबोलाएको भन्दै विपक्षी दलहरूले सरकारको आलोचना गर्दै आएका थिए ।
