निर्यात व्यापार ३२ प्रतिशतले बढ्यो

माघ ७, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — मुलुकको निर्यात व्यापार ३२ प्रतिशतले बढेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको व्यापारको तथ्यांकअनुसार ६ महिनामा ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँको वस्तु निर्यात भएको छ ।

यो रकम गत आर्थिक वर्षको सोही अवधिमा ३१.७८ प्रतिशत बढी हो । आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा ७४ अर्ब ९६ करोड ८० लाख रुपैयाँको निर्यात भएको थियो । 

त्यस्तै, आयात व्यापार ७ प्रतिशतले बढेको छ । चालु आर्थिक बर्षको ६ महिनामा ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँको वस्तु आयात भएको छ । २०८०/८१ को ६ महिनामा ७ खर्ब ६८ अर्ब १६ करोड ६५ लाख रुपैयाँको आयात भएको थियो । आयात निर्यातसँगै व्यापार घाटा पनि ४.३८ प्रतिशतले बढेको छ ।

विभागका अनुसार ६ महिनाको व्यापार घाटा ७ खर्ब २३ अर्ब ५८ करोड १२ लाख रुपैयाँ पुगेको छ । २०८०/८१ को ६ महिनामा व्यापार घाटा ६ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख थियो । 

कान्तिपुर

Link copied successfully