काठमाडौँ — आज सुप्रिम सहकारी ठगी प्रकरणमा रवि र छविविरुद्ध रूपन्देहीमा मुद्दा दर्ता, वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको भौतिक आक्रमणको विरोधमा कानुन व्यवसायीको प्रदर्शनदेखि इजरायल-हमास युद्धविराम, विपिन जोशी पहिलो चरणमा नछुट्नेसम्मका समाचार चर्चामा रहे ।
०००
सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी रवि लामिछाने र छविलाल जोशीसहित पुरक अभियोगका १४ र सुरु मुद्दाका २८ सहित ४२ जनाविरुद्ध रूपन्देही अदालतमा मुद्दा दर्ता भएको छ । रवि, छवि र लक्ष्मी पौडेलसहितलाई सहकारी ठगी र संगठित अपराधको कसुरमा १० करोड १९ लाख ३६ हजार रुपैयाँ बिगो माग गरिएको पूरक अभियोजन आइतबार दर्ता भएको हो ।
०००
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमणको विरुद्धमा कालोपट्टी बाँधेर कानुन व्यवसायीहरूले विरोध जनाएका छन् । आइतबार नेपाल बार एसोसियसन परिसरमा कानुन व्यवसायीहरूले हातमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन् । सर्वोच्च अदालत बार एसोसियसनको आह्वानमा बारका सदस्यहरूले हातमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन् ।
०००
प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी युद्धविरामको पहिलो चरणमा नछुट्ने भएका छन् । इजरायलले हमासले युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीमा विपिनको नाम भने समावेश छैन् ।
०००
गृहमन्त्री रमेश लेखकले विदेशी लगानी भित्र्याउन र देशभित्रै पनि लगानीको वातावरण बनाउन अध्यादेश ल्याइएको बताएका छन् । उनले उद्योगी व्यवसायीहरूले लामो समयदेखि माग गर्दै आएको विषय समेटेर लगानीको वातावरण बनाउन अहिलेको अध्यादेश आएको बताए ।
०००
टिकटकसम्बन्धी अमेरिकी संघीय सरकारको कानुनलाई त्यहाँको सर्वोच्च अदालतले सदर गरेसँगै आइतबारदेखि अमेरिकामा टिकटक चल्न छोडेको छ । अमेरिकी प्रयोगकर्ताहरूले एप खोल्दा ‘माफ गर्नुहोला, अहिलेलाई टिकटक उपलब्ध छैन’ लेखिएको सूचनाको स्क्रिनसट सामाजिक सञ्जालमा सेयर गर्न थालेका छन् । गुगल र एप्पल दुवै एपस्टोरहरूबाट टिकटक गायब भएको छ ।
