काठमाडौँ — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमणको विरुद्धमा कालोपट्टी बाँधेर कानुन व्यवसायीहरूले विरोध जनाएका छन् । आइतबार नेपाल बार एसोसियसन परिसरमा कानुन व्यवसायीहरूले हातमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन् ।
सर्वोच्च अदालत बार एसोसियसनको आह्वानमा बारका सदस्यहरूले हातमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन् । काठमाडौं जिल्ला अदालमा सहकारी ठगी प्रकरणबारे बहस गरेर बाहिर निस्किने क्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण भएको थियो ।
सोही विषयमा कानुन व्यवसायीहरूले आफूहरूको सुरक्षाको सुनिश्चितता प्रत्याभूति गर्न दबाबस्वरूप विरोध गरेका हुन् । विरोध कार्यक्रममा बोल्दै नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले मुद्दाको बहस सकेर फर्किने क्रममा अदालत परिसरमै कानुन व्यवसायीहरुमाथि आक्रमण हुनुले कानुन व्यवसायी असुरक्षित रहेको प्रमाणित भएको र कानुनी दायरा फराकिलो बनाउनुपर्ने माग गरे ।
वरिष्ठ अधिवक्ता शम्भु थापाले कानुन व्यवसायीमाथि भएको कुटपिट निन्दनीय रहेको बताए । राजनीतिक दलका कार्यकर्ता र राजनीतिक दलले पनि गम्भीर रूपले लिनुपर्ने बताए ।
