क्यापकट र लेमोनएटसमेत बन्द
काठमाडौँ — टिकटकसम्बन्धी अमेरिकी संघीय सरकारको कानुनलाई त्यहाँको सर्वोच्च अदालतले सदर गरेसँगै आइतबारदेखि अमेरिकामा टिकटक चल्न छोडेको छ । अमेरिकी प्रयोगकर्ताहरूले एप खोल्दा ‘माफ गर्नुहोला, अहिलेलाई टिकटक उपलब्ध छैन’ लेखिएको सूचनाको स्क्रिनसट सामाजिक सञ्जालमा सेयर गर्न थालेका छन् । गुगल र एप्पल दुवै एपस्टोरहरूबाट टिकटक गायब भएको छ ।
सर्वोच्च अदालतले शुक्रबार मात्रै चिनियाँ कम्पनी बाइटडान्सलाई टिकटकको अमेरिकी सञ्चालन बिक्री गर्न वा आगामी आइतबारदेखि देशभर प्रतिबन्ध सामना गर्न सरकारले दिएको अल्टिमेटम सही भएको फैसला गरेको थियो । योसँगै बाइटडान्सले अमेरिकामा १७ करोड प्रयोगकर्ता रहेको टिकटकको सञ्चालन अहिलेलाई बन्द गरिदिएको हो ।
अमेरिकी प्रयोगकर्ताका लागि एपस्टोर र प्लेस्टोर दुवैमा टिकटक उपलब्ध छैन । पहिले नै इन्स्टल गरिएका डिभाइसमा भने ‘टिकटक अहिलेलाई उपब्ध छैन । अमेरिकामा हाला टिकटकलाई प्रतिबन्ध लगाउने कानुन लागू गरिएको छ । यसको अर्थ, दुर्भाग्यवश, तपाईंले हाललाई टिकटक चलाउन सक्नु हुनेछैन’ लेखिएको सूचना देखिरहेका छन् । शनिबार साँझदेखि नै टिकटक चल्न छोडेको थियो ।
सोमबारबाट राष्ट्रपतिका रूपमा दोस्रो कार्याकाल सुरु गर्न लागेका डोनाल्ड ट्रम्पले भने टिकटकका लागि ९० दिनको थप समय दिनेबारे घोषणा गर्न सक्ने अनुमान गरिएको छ । टिकटककै सूचनामा पनि ट्र्म्पले ह्वाइट हाउस प्रवेश गरेपश्चात यस विषयमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको उल्लेख छ । रोयटर्सका अनुसार टिकटकसँगै अमेरिकामा बाइटडान्सकै क्यापकट, लेमनएट जस्ता एप पनि चल्न छोडेका छन् ।
‘टिकटका लागि ९० दिनको म्याद थप्ने विषय सम्भावनामा छ किनभने यो नै उचित हुनेछ,’ शनिबार ट्रम्पले एनबीसी न्युजसँग भनेका थिए, ‘मैले त्यो निर्णय गरेँ भने यसबारे सम्भवत: सोमबार नै घोषणा गर्नेछु ।’ बाइटडान्सले भने वर्तमान राष्ट्रपती जो बाइडेन प्रशासनले टिकटकमा प्रतिबन्ध लागू भएपछि एप्पल र गुगलजस्ता कम्पनीलाई कानुनी कारबाही गरिनेछैन भन्ने आश्वासन नदिए आइतबारदेखि टिकटक बन्द हुने प्रतिक्रिया दिएको थियो ।
राष्ट्रपति बाइडेनले गत अप्रिलमा हस्ताक्षर गरेको कानुनमा टिकटकको अमेरिकी सञ्चालन कम्पनीले कि त गैरचिनियाँ उद्यमीलाई बिक्री गर्नुपर्ने नभए प्रतिबन्ध लगाइने व्यवस्था छ । यसका लागि अमेरिकी सरकारले टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सलाई जनवरी १९ सम्मको समय सीमा दिएको थियो ।
बाइटडान्सले भने सो कानुनले अभिव्यक्ति स्वतन्त्रता उल्लंघन गर्नुका साथै व्यवसायमा समान अवसर नदिएको लगायत आरोप लगाएर सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दाको सुनुवाइका क्रममा अमेरिकी प्रयोगकर्ताको डेटा सङ्कलन गरेर टिकटकले चिनियाँ सरकारलाई दिने अमेरिकी सरकारको आशङ्काप्रति न्यायाधीशहरूले बढी जोड दिएका थिए । अदालतले बाइटडान्सलाई दिएको अल्टिमेटम सही भएको फैसला गरेको थियो ।
