तिब्बत भूकम्प : २४ घण्टामा ६ सयभन्दा बढी परकम्प

पुस २४, २०८१

कान्तिपुर संवाददाता

Tibet earthquake: more than 600 aftershocks in 24 hours

काठमाडौँ — चीनको स्वशासित क्षेत्र तिब्बतमा मंगलबार बिहान गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि निरन्तर परकम्प पनि गइरहेको छ । चिनियाँ सञ्चार माध्यम सीजीटीएनका अनुसार बुधबार बिहान १० बजेसम्म ६ सय ६० परकम्प गइसकेको छ । केही परकम्पको धक्का नेपालमा पनि महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

केन्द्रको भूकम्पीय जोखिम मूल्यांकन शाखाका प्रमुख भरतप्रसाद कोइरालाका अनुसार बुधबार बिहान ९ बजेसम्म नेपालबाट समेत ६१६ वटा परकम्प मापन गरिएको छ । ‘हिजोको भूकम्पको परकम्प मापन भइरहेको छ । प्रत्येक आधा घन्टाका दरमा १० वटा परकम्प गइरहेको छ,’ उनले भने, ‘यी सबै २ देखि ५.७ म्याग्निच्युडको परकम्प हुन् ।’ 

मंगलबार तिब्बतको डिङ्ग्री काउन्टीमा स्थानीय समयअनुसार ९ बजेर ५ मिनेट जाँदा शक्तिशाली भूकम्प गएको थियो । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार भूकम्पमा परी १२६ जनाको मृत्यु भएको छ भने १८८ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार भूकम्पले ३ हजार ६ सयभन्दा बढी घर भत्किएका छन् भने ३० हजार स्थानीयबासीलाई स्थानान्तरण गरिएको छ ।

नेपालको सीमा क्षेत्रबाट भूकम्पको केन्द्रबिन्दु ९३ किलोमिटर टाढा पर्छ । भूकम्पको धक्का नेपाल, भारत, बंगलादेश र भुटानमा समेत महसुस गरिएको थियो । भूकम्पले नेपालको ओखलढुंगा, सोलुखुम्बु र संखुवासभाका केही घरमा क्षति पुगेको नेपाल प्रहरीले जनाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully