काठमाडौँ — लेखा समिति सभापति ऋषिकेष पोखरेलका स्वकीय सचिव अनिल पोखरेलविरुद्ध ठगी मुद्दामा पक्राउ पुर्जीदेखि युद्धविराम सम्झौतापछि हमासले रिहा गर्ने बन्धकको सूची सार्वजनिक गरेकोसम्मका खबर कान्तिपुरमा प्रकाशित भएका छन् ।
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव तथा एमाले मोरङ जिल्ला कमिटी सदस्य अनिलकुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । मोरङ जिल्ला अदालतले मोरङ प्रहरीलाई सोमबार पोखरेललाई पक्राउ गर्न अनुमति दिएको हो ।
त्यस्तै सोलुखुम्बु प्रशासनले अनधिकृत व्यक्तिहरूले खुम्बु क्षेत्रका हेलिप्याडमा हेलिकोप्टर अवतरणमा लगाएको प्रतिबन्ध तत्काल हटाउन चेतावनी दिएको छ । अवैधानिक गतिविधि गर्नेलाई कडा कारबाही गर्ने पनि जिल्ला प्रशासन कार्यालयको चेतावनी छ ।
त्यसैगरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि ९ दिनदेखि माइतीघरमा उभिएर धर्ना दिइरहेका विद्यार्थी नेता नेत्र चापागाईंले सोमबार मध्याह्नदेखि धर्ना स्थगित गरेका छन् । भट्टराईसहित संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सभापति अम्मरबहादुर थापाले धर्नास्थल माइतीघर पुगेर माग पूरा गर्ने आश्वसन दिएका थिए ।
त्यस्तै काठमाडौँ-तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को खोकना विवाद अझै टुङ्गिन नसेकको खबर पनि कान्तिपुरले प्रकाशित गरेको छ । विकल्प पहिचान गरिँदासमेत सम्बन्धित मन्त्रालयले बेवास्ता गर्दा यस क्षेत्रमा केही काम हुन सकेको छैन । तिहार लगत्तै सम्बन्धित मन्त्रालयका मन्त्रीसहितको टोली स्थलगत निरीक्षणमा गएर समाधानको उपाय खोजिने बताइएको थियो ।
त्यस्तै सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । सोमबारदेखि लागू हुने गरी नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरको सहमतिमा अन्तरप्रदेश सार्वजनिक यातायातका सवारी साधनका यात्रुवाहक र मालवाहक सवारी साधनको भाडादर समायोजन गर्दै भाडा बढाइएको हो ।
त्यस्तै अन्तर्राष्ट्रिय समाचारमा इजरायलसँग युद्धविराम भए रिहा गर्ने भन्दै हमासले सार्वजनिक गरेको बन्धकको सूची पनि चर्चामा रहेको छ । नेपालका विपिन जोशी अझै पनि हमासद्वारा बन्धक बनाइएकाले पनि यो खबर चर्चामा रहेको हो । बीबीसीका अनुसार हमासका वरिष्ठ अधिकारीले उपलब्ध गराएको सूचीमा ३४ जना बन्धकहरूको नाम छ । तर उनीहरूमध्ये कति जना जीवित छन् भन्ने स्पष्ट भइसकेको छैन । सूचीमा १० वृद्धा, ११ जना ५० देखि ८५ वर्षका पुरूष बन्धक र बालबालिका छन् । यसअघि हमासले ती बालबालिका इजरायली हवाई आक्रमणमा मारिएको जनाएको थियो ।
त्यस्तै अमेरिकामा दशकौंयताको भीषण हिउँदे आँधीसँगै ६ करोडभन्दा बढी मानिसका लागि मौसमी चेतावनी जारी गरिएको छ । आँधीले कतिपय स्थानमा ठूलो हिमपात गराउनुका साथै चिसो निकै बढाएको छ । कान्सस, मिजोरी, केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया र अर्कान्सस राज्यसँगै न्युजर्सीका कतिपय स्थानमा संकटकाल घोषणा गरिएको छ । सबैभन्दा बढी कान्सस र मिजोरी राज्यमा प्रभावित भएका जनाइएको छ । आँधीले अमेरिकको पूर्वी तटीय क्षेत्र बढी प्रभावति हुने ठानिएको छ ।
