६ करोडभन्दा बढी प्रभावित, ५ राज्यमा संकटकाल घोषणा
काठमाडौँ — अमेरिकामा दशकौंयताको भीषण हिउँदे आँधीसँगै ६ करोडभन्दा बढी मानिसका लागि मौसमी चेतावनी जारी गरिएको छ । आँधीले कतिपय स्थानमा ठूलो हिमपात गराउनुका साथै चिसो निकै बढाएको छ ।
कान्सस, मिजोरी, केन्टुकी, भर्जिनिया, वेस्ट भर्जिनिया र अर्कान्सस राज्यसँगै न्युजर्सीका कतिपय स्थानमा संकटकाल घोषणा गरिएको छ । सबैभन्दा बढि कान्सस र मिजोरी राज्यमा प्रभावित भएका जनाइएको छ । आँधीले अमेरिकको पूर्वी तटीय क्षेत्र बढि प्रभावति हुने ठानिएको छ ।
मौसमविद्हरूले 'पोलर भोर्टेक्स'का कारण चरम मौसमी अवस्था उत्पन्न भएको जनाएका छन् । आर्क्टिकमा फैलिने चिसो हावा भएको एक क्षेत्रलाई 'पोलर भोर्टेक्स' भनिन्छ ।
ओहायोदेखि वासिङटन डीसीसम्म १५ देखि ३० सेन्टिमिटरसम्म हिमपात हुने अनुमान गरिएको छ । सामान्यत: मौसम राम्रो हुने फ्लोरिडा राज्यमा पनि अत्यधिक चिसो हुने मौसमविद्हरूको अनुमान छ । न्युयोर्क राज्यका उत्तरी क्षेत्रमा तीन फिटभन्दा बाक्लो हिउँ परिसकेको छ ।
आँधी प्रभावित क्षेत्रमा हजारौं उडानहरू रद्द भएका छन् भने अधिकांश सडकहरू अवरुद्ध भएका छन् । अमेरिका भित्रिने र बाहिरिने १५ सयभन्दा बढी उडान रद्द भइसकेका छन् । झन्डै ५ हजार उडान प्रभावित हुने जनाइएको छ ।
अमेरिकन, डेल्टा, साउथवेस्ट र यूनाइटेड एअरलाइन्सले उडान परिवर्तन गर्दा लाग्ने शुल्क हटाइएको जनाएका छन् । एम्ट्र्याकले पनि कैयौँ रेलसेवा स्थगित गरेको छ । 
त्यस्तै, शैक्षिक संस्थाहरू बन्द भएका छन् । कान्सस राज्यमा मात्रै सयभन्दा बढि विद्यालय बन्द भएका बीबीसीले उल्लेख गरेको छ । सडकमा हिउँ जमेसँगै दुर्घटना पनि बढेको जनाइएको छ ।
वासिङटन डीसीमा पनि बाक्लो हिमपात हुने अनुमान छ । त्यहाँका नगरप्रमुख मुरिएल बोउसले हिमपातका कारण कम्तीमा आइतवार साँझसम्म लागू हुने गरी संकटकालको घोषणा गरेकी छन् ।
मौसमविद्हरूले यसवर्षको जनवरी महिना सन् २०११ यताकै चिसो हुने जनाएका छन् । आँधी प्रभावित क्षेत्रमा एक सातासम्म चिसो लम्बिने जनाइएको छ ।
अमेरिकाकी उत्तरी छिमेकी क्यानडाको अधिकांश क्षेत्रमा मौसमसम्बन्धी चेतावनी जारी गरिएको छ । चिसो बढेसँगै क्यानडाको अधिकांश क्षेत्रमा शुक्रबारबाटै मौसमसम्बन्धी चेतावनी जारी गरिएको थियो । कतिपय क्षेत्रमा भीषण हिमपात भएको र हावाहुरी चलेको बीबीसीले जनाएको छ ।
क्यानडाको मानिटोबा राज्यमा आँधीका कारण तापक्रम घटेर माइनस ४० डिग्री सेल्सियस पुग्न सक्ने ठानिएको छ । ओन्टारियोका कतिपय भागमा १५ इन्चसम्म हिमपात भएको थियो ।
