लेखा समिति सभापति पोखरेलले ठगीको आरोप लागेका स्वकीय सचिवलाई हटाए

पुस १९, २०८१

जयसिंह महरा

Accounts Committee chairman Pokharel removed the personal secretary who was accused of fraud

काठमाडौँ — सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ठगीमा संलग्नको आरोप लागेका स्वकीय सचिव अनिलकुमार पोखरेललाई हटाएका छन् । संघीय संसद् सचिवालयलाई पत्र लेखेर सभापति पोखरेलले स्वकीय सचिवलाई हटाएका हुन् । 

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभापति पोखरेलले स्वकीय सचिवलाई हटाउनका लागि भन्दै शुक्रबार पत्र पठाएका छन् ।

उच्च अदालत विराटनगरले सभापति पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेललाई ठगीमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई परमादेश दिएको थियो । परमादेश पुस ११ मा प्रमाणीकरण भएकोमा शुक्रबारसम्म सभापति पोखरेलको स्वकीय सचिवमा अनिल पोखरेलले नै काम गरिरहेका थिए । 

सभापति पोखरेलले संसद् सचिवालयलाई लेखेको पत्रमा भनिएको छ, 'मेरो स्वकीय सचिवको रुपमा कार्यरत अनिलकुमार पोखरेललाई उच्च अदालत मोरङबाट पक्राउ पूर्जी जारी भएको भन्ने विभिन्न मिडियामा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। निजमाथि लगाएका विभिन्न आरोपहरूको अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मेरो स्वकीय सचिवको जिम्मेवारीबाट आजैको मितिदेखि लागू हुनेगरी निष्कासन गरेको व्यहोरा अनुरोध गर्दछु ।'

भष्ट्राचारजन्य क्रियाकलापमा संलग्न जो कोहिमाथि पनि निष्पक्ष छानबिन र दोषी उपर कडा कारबाही हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको पनि सभापति पोखरेलले पत्रमा लेखेका छन् । 

‘माथिसम्म पहुँच रहेको’ भन्दै लेखा समिति सभापति पोखरेलका स्वकीय सचिव अनिल पोखरेलले छोरीको नाम एमबीबीएस इन्ट्रान्समा निकालिदिने आश्वासन दिई बौआलाल चौधरीबाट ३८ लाख ८० हजार रुपैयाँ लिएका थिए । छोरीको नाम एमबीबीएसमा ननिस्किएपछि पैसा फिर्ता माग्दा उल्टै धम्की दिएर ५० लाख ऋण लिएको लिखत बनाइ चौधरीलाई हस्ताक्षर गराएका थिए । 

इलाका प्रहरी कार्यालय रंगेली र जिल्ला प्रहरी कार्यालय मोरङले चौधरीको जाहेरी लिन मानेको थिएन । जिल्ला सरकारी वकिलको कार्यालयले जाहेरी दर्ता गर्नका लागि प्रहरीलाई चिठी लेख्न अस्वीकार गरेको थियो । राजनीतिक शक्तिका आडमा पोखरेलले उक्त कार्य गरेको बताइएको छ ।

अनिलकुमार पोखरेल एमालेको मोरङ जिल्ला कमिटी सदस्य हुन् । २०७९ को निर्वाचनमा प्रदेशसभा सदस्यको उम्मेदवारमा जिल्ला कमिटीबाट सिफारिस भएका थिए । ऋषिकेश पोखरेले सांसद भएर सार्वजनिक लेखा समितिको सभापति बनेदेखि नै अनिलकुमार पोखरेल स्वकीय सचिव थिए ।

Accounts Committee chairman Pokharel removed the personal secretary who was accused of fraud

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully