काठमाडौँ — आज हुम्लाको सर्केगाड गाउँपालिका–१ तुम्च गाउँका नागरिकलाई अनुदानमा प्राप्त हुने ९ रुपैयाँको नुनलाई २ हजार ५ सय रुपैयाँसम्म खर्च गरिरहनु पर्ने, एमालेबाट निष्कासित नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीको भण्डाफोर गर्नेदेखि एनपीएलको पहिलो संस्करणको उपाधि जितेको जनकपुर बोल्ट्सलाई गृहनगरमा भव्य स्वागतसम्मका खबर चर्चामा रहे ।
000
एमालेबाट निष्कासित नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीको भण्डाफोर गर्ने बताएका छन् । पूर्वउपाध्यक्षसमेत रहेका रावलले अध्यक्ष ओलीको स्वेच्छाचारी कदमप्रति देशव्यापी रूपमा अभियान चलाउने बताएका छन् । शुक्रबार कान्तिपुरसँग कुराकानी गर्दै रावलले भने, 'ममाथि जे जस्तो व्यवहार गरियो त्यसको व्यवस्थित ढंगले देशव्यापी रूपमा भण्डाफोर गर्ने तयारीमा छु ।केपी ओलीको स्वेच्छाचारी, निरंकुश र तानाशाही दमनविरुद्ध सशक्त ढंगले अभियान चलाउँदै छु । निश्चित रूपमा एउटा राजनीतिक व्यक्तिका गतिविधिहरू राजनीतिक रूपमै अघि बढ्छन् ।'
केपी ओलीको तानाशाही दमनविरुद्ध देशव्यापी भण्डाफोर गर्छु : भीम रावल
हुम्लाको सर्केगाड गाउँपालिका–१ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर्नुपर्ने बाध्यता छ । अनुदानमा प्राप्त हुने ९ रुपैयाँको नुनलाई उनीहरूले २ हजार ५ सय रुपैयाँसम्म खर्च गरिरहेका छन् । नुन वितरणको डिपो कार्यालय गाउँभन्दा टाढा हुँदा महँगो गाडी भाडा तिरेर उनीहरू नुन लिन जान बाध्य छन् । नुन लिन जाँदा र घर फर्कन मात्रै उक्त रकम खर्च हुने गरेको स्थानीय रामशरण रावतले बताए ।
९ रुपैयाँको नुन लिन २५ सय खर्च !
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एक महिनाभित्र आर्टिभिसयल इन्टिलिजेन्स (एआई) को नियमन गरिने बताएका छन् । गण्डकी प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था, गुणस्तर र चुनौती सम्बन्धमा दूरसञ्चार प्राधिकरणले शुक्रबार पोखरामा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले सरकारले एक महिनाभित्र एआईसम्बन्धी रणनीति ल्याउने बताएका हुन् ।
इलन मस्कको स्टारलिंक आउने कुरा थाहा छैन : मन्त्री गुरुङ
चालु आर्थिक वर्षको पाँच महिनामा २० अर्ब ७७ करोड ७३ लाख रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । ३१९ वटा उद्योगमा उक्त रकम बराबरको लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । स्वचालित रुट (अटोमेटिक रुट) बाट १३८ उद्योगमा २ अर्ब १३ करोड १ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।
पाँच महिनामा २१ अर्ब विदेशी लगानी प्रतिबद्धता
एक महिनाअघि सिनामंगलस्थित एक होटलको रेलिङमा झुन्डिएको अवस्थामा फेला परेका माझी दम्पतीको मृत्युको कारण अझै खुलेको छैन । एक महिना पुग्दासमेत पोस्टमार्टम र मोबाइल फरेन्सिक जाँचको रिपोर्ट नआएपछि परिवार थप चिन्तामा छ । मंसिर ८ मा क्यानडाबाट फर्किएका दुहबी नगरपालिका-८, सुनसरीका ३४ वर्षीय रमेश माझी र २९ वर्षीया शर्मिला माझी भोलिपल्ट बिहान मृत फेला परेका थिए ।
एक महिना बित्दा पनि आएन माझी दम्पतीको पोस्टमार्टम रिपोर्ट
नेपाल प्रिमियर लिग(एनपीएल) को पहिलो संस्करणको उपाधि जितेको जनकपुर बोल्ट्सलाई गृहनगरमा भव्य स्वागत गरिएको छ । जनकपुर बोल्ट्सले शुक्रबार जनकपुरको प्रस्तावित रामजानकी बहुउदेश्यी अन्तर्राष्ट्रिय रंगशालाबाट परिसरबाट विजयी यात्रा थालेका हुन् । जनकपुर बोल्ट्सका मार्की खेलाडी आसिफ शेख, कप्तान अनिल साह, ललित राजवंशी, शेर मल्ललगायतका खेलाडीहरू र्यालीमा सहभागी थिए । त्यस्तै नेपाल क्रिकेट संघका उपाध्यक्षसमेत रहेका बोल्ट्सका सञ्चालक रोशन सिंह र धनुषा क्रिकेट संघका अध्यक्ष शोभाकान्त पाण्डे पनि र्यालीमा सहभागी छन् ।
गृहनगरमा जनकपुर बोल्ट्सलाई भव्य बधाई
