‘इलन मस्कको स्टारलिंक आउने कुरा थाहा छैन’
पोखरा — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एक महिनाभित्र आर्टिभिसयल इन्टिलिजेन्स (एआई) को नियमन गरिने बताएका छन् ।
गण्डकी प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था, गुणस्तर र चुनौती सम्बन्धमा दूरसञ्चार प्राधिकरणले शुक्रबार पोखरामा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले सरकारले एक महिनाभित्र एआईसम्बन्धी रणनीति ल्याउने बताएका हुन् ।
‘अहिलेसम्म हाम्रो मुलुकमा एआईसम्बन्धी नीति छैन, रणनीति छैन । अबको एक महिनाभित्र नीति, रणनीति पास गर्छौं,’ उनले भने, ‘नीति र रणनीति बनाएपछि त्यसको आधारमा कानुन बनाउँछौं । एआईलाई आजको शिक्षासँग कसरी प्रयोग गर्ने, स्वास्थ्यसँग कसरी प्रयोग गर्ने, कृषिको आधुनिकीकरणमा कसरी प्रयोग गर्ने, अर्थतन्त्र विकासमा कसरी प्रयोग गर्ने, सरकारी क्षेत्रमा त्यसको प्रभावकारिता कस्तो हुन्छ भन्ने रणनीतिले बोल्ने छ ।’ सरकारी कामकाज, बैंकिङ क्षेत्र, उद्योग, वन तथा वातावरण, जलवायु परिवर्तनको क्षेत्रमा एआईको महत्त्वपूर्ण भूमिका हुने उनले बताए । भने, ‘एआईको ऐन कानुन बनाएर अधिकतम रुपमा यो मुलुकको उत्पादन र उत्पादकत्व बढाउने कुरा, अवसर सिर्जना गर्ने कुरा महत्त्वपूर्ण हो ।’
इलन मस्कको स्टारलिंक नेपाल आउनेबारे आफूलाई थाहा नभएको उनले बताए । आफूकहाँ स्टारलिंकका प्रतिनिधि भेट्न आएको बताउँदै उनले नेपाल सरकारले इजाजत दिएमात्रै स्टारलिंक आउने उल्लेख गरे । ‘नेपालजस्तो सानो देशमा धेरै नाफा होला भनेर आउन खोजेको होइन, केही न केही रणनीति छ,’ उनले भने, ‘हामीले चिनेका छौं, इलन मस्क कस्तो मान्छे हो भनेर । राजनीतिक रुपमा कस्तो मान्छे भनेर चिन्छौं । व्यापारीमा सबैभन्दा धनी मानिस भनेर चिनिएको छ । धनी मान्छे कि आईटी चलाउने छ, कि तेलको व्यापारी छ, कि जग्गा बेच्ने छ ।’
उनले लोकतन्त्रका मूलभूत मान्यतामा संविधान संशोधन नहुने बताए । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिकताका सम्बन्धमा संविधान संशोधनको बहस नहुने बताउँदै उनले संघ, प्रदेश र स्थानीय तहको अधिकारका सम्बन्धमा संविधान संशोधन गर्न दलबीच छलफल चलाउनुपर्ने भनाइ व्यक्त गरे । उनले भने, ‘राष्ट्रिय सहमतिबिना दुई तिहाइको भरमा जोरजोलुम गर्ने पक्षमा छैनौं ।’
