आज दिनभर देशमा के–के भयो ?

पुस ११, २०८१

कान्तिपुर संवाददाता

What happened in the country today?

काठमाडौँ — आज एमाले केन्द्रीय सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे छलफल, सूर्यदर्शन सहकारी ठगीका प्रतिवादीहरुको बयानदेखि निजामती कर्मचारी प्रशासन र राजनीतिक दलका ट्रेड युनियनसम्मका खबर चर्चामा रहे । 

०००

एमाले केन्द्रीय सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे छलफल भएको छ । बुधबारको बैठकमा ओलीले आफ्नो चीन भ्रमण सफल भएको उल्लेख गर्दै भारत भ्रमणबारे सन्दर्भ उप्काएका थिए । बैठकमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग न्युयोर्कको भेटवार्ता भइसकेकाले ‘आवश्यकताअनुसार’ दिल्ली भ्रमण हुने बताएका थिए ।

एमाले सचिवालय बैठकमा ओली : भारत भ्रमण भएन भनेर हल्लाखल्ला गर्नुको अर्थ छैन

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीलाई बयानका लागि कास्की जिल्ला अदालतमा गराइएकामा प्रतिवादी लीला पछाइको बयान जारी रहेको छ । उक्त मुद्दाका अर्का प्रतिवादी छविलाल जोशीको बयान मंगलबार सकिएपछि सोही दिनदेखि पछाइको बयान सुरु गरिएको थियो । 

सूर्यदर्शन सहकारी ठगी : प्रतिवादीहरुको बयान जारी 

सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले निजामती कर्मचारीमा राजनीतिक दलका ट्रेड युनियन खोल्न दिनै नहुने बताएका छन् । कांग्रेस पार्टीको धारणा नै कर्मचारीतन्त्रमा राजनीतिक दलका ट्रेड युनियन खोल्न नहुने रहेको घिमिरेले स्पष्ट पारे । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि पार्टीको धारणा राख्दै कांग्रेस प्रमुख सचेतक घिमिरेले सरकारबाट तलब खानेहरूले पार्टीगत ट्रेड युनियनमा सहभागी हुन नहुने बताए । 

कर्मचारीमा पार्टीगत ट्रेड युनियन खोल्न दिनै हुन्न : कांग्रेस प्रमुख सचेतक घिमिरे 

सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले निजामती सेवामा एउटै व्यक्तिलाई पटक-पटक आरक्षण दिने व्यवस्था सही नभएको बताएका छन् । आरक्षणको अहिलेको व्यवस्थामा परिवर्तन गरी वर्गीय आधारमा पनि आरक्षणको व्यवस्था हुनुपर्ने उनले प्रस्ताव गरेका छन् ।

निजामतीमा एउटै व्यक्तिलाई हरेक पदमा आरक्षण गलत छ : एमाले प्रमुख सचेतक बर्तौला 

सौराहामा बिहीबारदेखि हात्ती तथा पर्यटन महोत्सव सुरू भएको छ । क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर क्षेत्रीय होटल संघ (हान) सौराहाले सन् २००५ देखि हात्ती महोत्सव सुरू गरेको हो । यो १८ औं हात्ती महोत्सव हो । कोरोनाको समयमा महोत्सव हुन सकेको थिएन । सौराहा आडको बाङमारा मध्यवर्ती सामुदायिक वनको चौरमा पुस १५ गते सोमबारसम्म महोत्सव सञ्चालन हुने छ । 

सौराहामा सुरू भयो हात्ती महोत्सव

 

कान्तिपुर

Link copied successfully