चितवन — सौराहामा बिहीबारदेखि हात्ती तथा पर्यटन महोत्सव सुरू भएको छ । क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर क्षेत्रीय होटल संघ (हान) सौराहाले सन् २००५ देखि हात्ती महोत्सव सुरू गरेको हो । यो १८ औं हात्ती महोत्सव हो । कोरोनाको समयमा महोत्सव हुन सकेको थिएन ।
सौराहा आडको बाङमारा मध्यवर्ती सामुदायिक वनको चौरमा पुस १५ गते सोमबारसम्म महोत्सव सञ्चालन हुने छ । महोत्सवको उद्घाटनअघि सिंगारिएका हात्तीको लस्करसहित आदिवाासी थारू लगायतका समुदायको सांस्कृतिक झाँकी निस्किएको थियो ।
हात्ती महोत्सवको अवसरमा हात्तीको फुटबल पेनाल्टी हान्ने खेलसहित विविध गतिविधि र सांगितिक कार्यक्रमहरू हुने आयोजक सौराहा हानका सचिव महेश खनालले बताए । शुक्रबार हात्ती सुन्दरी प्रतियोगिता हुनेछ । शनिबार हात्तीको पिकनिक कार्यक्रम छ ।
