निजामतीमा एउटै व्यक्तिलाई हरेक पदमा आरक्षण गलत छ : एमाले प्रमुख सचेतक बर्तौला

'आरक्षणमा सहरका टाँठाबाँठाले हालिमुहाली गर्ने काम भयो'

पुस ११, २०८१

कान्तिपुर संवाददाता

Reservation for the same person in every post in the civil service is wrong: UML Chief Whip Bertaula

काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले निजामती सेवामा एउटै व्यक्तिलाई पटक-पटक आरक्षण दिने व्यवस्था सही नभएको बताएका छन् ।

आरक्षणको अहिलेको व्यवस्थामा परिवर्तन गरी वर्गीय आधारमा पनि आरक्षणको व्यवस्था हुनुपर्ने उनले प्रस्ताव गरेका छन् । 

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि पार्टीको धारणा राख्दै एमाले प्रमुख सचेतक बर्तौलाले निजामती सेवामा आरक्षणको वर्तमान कानुनी व्यवस्थामा परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

'आरक्षण कहिलेसम्म दिन्छौं, एउटै व्यक्तिलाई सेवाभित्र हरेक पदमा आरक्षण दिइरहने कुरा गलत हुन्छ । आरक्षण एकपटक मात्र हुने व्यवस्था हुनुपर्छ,' बर्तौलाले भने, 'वर्गीय आधारमा पनि आरक्षण ख्याल गरिनुपर्छ । आरक्षणमा सहरका टाठाबाठाले हालिमुहाली गर्ने काम भयो ।' निजामती सेवाको ऐन निर्माण गर्दैगर्दा आरक्षणको विषयलाई पनि छलफलमा ल्याउनुपर्ने बर्तौलाको भनाइ थियो । 

त्यस्तै, शाखा अधिकृतमा नियुक्त भएर आएका कर्मचारी उपसचिव र सहसचिवको परीक्षा तयारी गर्ने भएकाले काम हुन नपाएको बर्तौलाको भनाइ थियो । कार्यालयमा हाजिर भएर सेवाग्राहीको काम गर्ने भन्दा पनि अर्को परीक्षाको तयारी गर्ने प्रणाली अन्त्य गर्नका लागि ऐनमा व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो । 'सहसचिव र उपसचिवमा खुला प्रतिस्पर्धा रोकौं । अफिसमा आएर पनि पढिरहेका छन् । कर्मचारीहरू व्यक्तिगत वृत्ति विकासका लागि ध्यान दिने भएकाले ठूलो समस्या भएको छ,' उनले भने ।

कान्तिपुर

Link copied successfully