काठमाडौँ — फरार श्रीमतीको बिदा थप्न लेखा समिति सभापति ऋषिकेश पोखरेलले विद्यालयलाई दबाब दिएको, एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट निस्कासन गरेकोदेखि आज कजाकस्तानमा ६७ जना यात्रु बोकेको विमान दुर्घटनासम्मका समाचार चर्चामा रहे ।
000
उमा–गौरी कृषि सहकारीको बचत ठगी मुद्दाकी फरार अभियुक्त अञ्जला कोइरालाको उनले पढाउँदै आएको विद्यालयमा बिदा थप्न संसद्को सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका श्रीमान् ऋषिकेश पोखरेलले दबाब दिएका छन् । अदालतले पक्राउपुर्जी जारी गर्नुअघि देखि ‘फरार’ रहेकी उक्त सहकारीकी पूर्व सञ्चालक कोइरालासहित २६ जनाविरुद्ध सरकारी वकिलको कार्यालयले २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगोबमोजिम जरिवाना गरी ६ देखि ८ वर्षसम्म कैदसजाय माग गर्दै मुद्दा दायर गरेको छ ।
फरार श्रीमतीको बिदा थप्न लेखा समिति सभापतिद्वारा विद्यालयलाई दबाब
नेकपा एमालेले नेताहरू भीम रावल, स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई कारबाही गरेको छ । बुधबार बसेको सचिवालय बैठकले रावललाई साधारण सदस्यबाट समेत निलम्बन गरेको हो भने पाण्डे र तिम्सिनालाई ६ महिनाका लागि कारबाही गरेको एमाले नेताले बताए ।
एमालेबाट रावल निष्कासित, पाण्डे र तिम्सिना निलम्बित
सभामुख देवराज घिमिरेले सरकार संसद्बाट तर्केर हिँडिरहेको बताएका छन् । आफूलाई समस्या नपरेसम्म वा संसद्बाट कानुन निर्माण गर्नैपर्ने अवस्था नआएसम्म सरकार तर्केर हिँड्ने गरेको उनको भनाइ छ । संसद् सचिवालयले भक्तपुरमा बुधबार आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले सहभागीहरूको प्रश्न र जिज्ञासाको जवाफ दिने क्रममा सरकार संसद्बाट तर्किइरहेको महसुस भएको बताएका हुन् ।
सरकार संसद्सँग तर्केर हिँडिरहेको छ : सभामुख घिमिरे
सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्न सरकारले अध्यादेश ल्याउने निर्णय गरेको छ । सहकारीसम्बन्धी ऐन, २०७४, राष्ट्र बैंक ऐन, २०५८ र निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ मा संशोधन गर्ने अध्यादेश मंगलबार मन्त्रिपरिषद् बैठकले पारित गरेको हो । अध्यादेश राष्ट्रपतिले जारी गरेपछि लागू हुनेछ ।
सहकारी प्राधिकरण गठन गर्न अध्यादेश, ५ लाखसम्मको बचत फिर्तालाई प्राथमिकता
अजरबैजानको एउटा यात्रुवाहक जहाज कजाकस्तानमा दुर्घटनामा परेको छ । ६२ यात्रु र ५ जना चालक दलका सदस्यहरू रहेको जहाज कजाकस्तानको अक्ताउ क्षेत्रनजिकै खसेको बीबीसीले जनाएको छ । कजाकस्तानका आकस्मिक सेवासम्बन्धी मन्त्रालयले उक्त दुर्घटनामा केही मानिसहरू बच्न सफल भएको जनाएको छ ।
