काठमाडौँ — जाजरकोटका भूकम्प पीडितहरुले दोस्रो हिउँद पनि कष्टपूर्ण तरिकाले टहरामै बिताएको खबरदेखि पाँच महिनामा ४ अर्ब ९६ करोड रुपैयाँबराबरको गलैँचा निर्यात भएको खबरसम्म आज चर्चामा रहे ।
चालु आर्थिक वर्षको पाँच महिनामा ४ अर्ब ९६ करोड ३३ लाख रुपैयाँबराबरको गलैंचा निर्यात भएको छ । भन्सार विभागका अनुसार २ लाख ४६ हजार ४०४ स्क्वायर मिटर गलैंचा ५९ वटा मुलुकमा निर्यात भएको हो । यस्तै भारतमा २५ करोड, बेलायतमा २२ करोड इटालीमा २२ करोड, फ्रान्समा १४ करोड, अस्ट्रेलियामा १३ करोड र बेलजियममा १२ करोड रुपैयाँको गलैँचा निर्यात भएको छ ।
पाँच महिनामा ४ अर्ब ९६ करोड रुपैयाँबराबरको गलैँचा निर्यात
नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले केही नेपाल ऐन संशोधन विधेयकको दफा ६४ फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको आइतबारको बैठकमा कानुनमन्त्री अजयकुमार चौरसियाले विधेयकको दफा ६४ फिर्ता लिएको जानकारी दिएका थिए ।
नेता-कार्यकर्ताका मुद्दा फिर्ता लिने विधेयकको दफा फिर्ता लिएकामा नेकपाको आपत्ति
गत वर्ष कात्तिक दोस्रो साता गएको भूकम्पमा परी घर गुमाएका कुशे गाउँपालिका–९ मोताई गाउँका ५३ वर्षीय रामसिलम गिरीले गत वर्ष अस्थायी टहरामा चिसोले ज्यान गुमाए । दमका रोगी उनले ज्यान गुमाएदेखि नै उनको ६ जनाको परिवारको बिचल्ली छ भने ५१ वर्षीया पत्नी चित्रलेखा पनि ज्वरोले एक सातायता बिरामी छिन् ।
भूकम्पपीडितको दोस्रो हिउँद पनि टहरामै
पुनःनिर्माण पश्चात धरहरा सशुल्क सञ्चालन भएको आज एक महिना पुगेको छ । यस अवधिमा प्रवेश शुल्कबापत् रु ५५ लाख सङ्कलन भएको छ । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट हिजो सोमबारसम्ममा टिकट बिक्रीबापत उक्त रकम सङ्कलन भएको हो ।
धरहरा सञ्चालनको एक महिनामा ५५ लाख रुपैयाँको टिकट बिक्री
नेपालका अलराउन्डर कुशल मल्लले यूएईमा हुने इन्टरनेसनल लिग टी-२० खेल्ने भएका छन् । मल्ललाई डेजर्ट भाइपर्सले अनुबन्धित गरेको हो । डच अलराउन्डर बास डे लिड घाइते भएपछि डेजर्ट भाइपर्सले मल्ललाई अनुबन्धित गरेको हो । भाइपर्सका निर्देशक टम मूडीले कुशल मल्ललाई टिममा लिइएको जानकारी दिँदै भनेका छन्, 'उनी युवा खेलाडी हुन् । युवा खेलाडी भए पनि माथिल्लो स्तरमा उनले उल्लेख्य अनुभव बटुलिसकेका छन् । '
कुशल मल्लले इन्टरनेसनल लिग टी-२० खेल्ने, डेजर्ट भाइपर्समा अनुबन्धित
