काठमाडौँ — नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले केही नेपाल ऐन संशोधन विधेयकको दफा ६४ फिर्ता लिने सरकारकाे निर्णयप्रति आपत्ति जनाएको छ ।
प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको आइतबारको बैठकमा कानुनमन्त्री अजयकुमार चौरसियाले विधेयकको दफा ६४ फिर्ता लिएको जानकारी दिएका थिए । उक्त दफामा छलफल हुनु पहिला मन्त्री चौरसिया र कानुन मन्त्रालयका उदयराज सापकोटाले फिर्ता लिने निर्णय भइसकेको बताए ।
‘नेपाल सरकारले पुस ७ गते केही नेपाल ऐनको दफा ६४ फिर्ता लिने प्रस्ताव गरेको समाचारप्रति पार्टी गम्भीर भएको छ । केपी शर्मा ओली नेतृत्वको सरकार आफैंले विगतमा गरेको निर्णय कार्यान्वयन गर्नुको सट्टा राजनीतिक सहमतिबाट राज्य आफैं पछि हट्नु छलछाम र षड्यन्त्रबाट गुज्रन खोजेको प्रष्ट भएको छ,’ महासचिव चन्दले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक दलमाथि लागेका मुद्दा फिर्ता लिने निर्णय बदर गर्ने गरी वर्तमान कानुनमन्त्री चौरसियाद्वारा विधेयक प्रस्ताव गर्नुलाई तीन बुँदे सहमतिबाट पछि हट्नु जनविरोधी कार्य भएको हाम्रो ठहर छ ।’
तत्कालीन प्रधानमन्त्री ओली र चन्दबीच २०७७ फागुनमा तीनबुँदे सहमति भई नेकपा शान्तिपूर्ण राजनीतिमा आएको थियो । त्यसबेला भएको सहमतिमा नेता तथा कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दा फिर्ता लिने सहमति भएको थियो ।
‘नेपाल सरकार नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दा खारेज गर्न सहमत भएको छ,’ सहमतिमा भनिएको थियाे । चन्दले तीनबुँदे सहमति कार्यान्वयनका लागि सरकारलाई दबाब दिन पनि आग्रह गरेका छन् ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ संशोधन गर्न केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफा ६४ फिर्ता लिइएको हो । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा फिर्ता गर्न नमिल्ने मुद्दाहरूको सूची थियो । उक्त दफालाई संशोधन गरेर सरकारले राजनीतिक दलका नेता र कार्यकर्ताविरुद्ध चलाइएका जुनसुकै विचाराधीन मुद्दा फिर्ता लिन मिल्ने व्यवस्था गर्न लागिएको थियो ।
सरकारले विधेयकमा व्यवस्था गरेको दफा ६४ मा लेखिएको थियो, 'दफा ११६ मा जुनसुकै कुरा लेखिएको भए पनि कुनै राजनीतिक दल वा समूहले मुलुकको राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलाप सञ्चालन गरिरहेकामा त्यस्तो दल वा समूह शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन संविधान र प्रचलित कानुनको अधीनमा रही शान्तिपूर्ण राजनीतिक क्रियाकलाप सञ्चालन गर्ने प्रतिबद्धता जनाई नेपाल सरकार र त्यस्तो दल वा समूहबीच राजनीतिक प्रकृतिका सम्झौताको माध्यमबाट नेपाल सरकार वादी भई दायर भएका मुद्दा फिर्ता लिने गरी सहमति भएकामा त्यस्तो सम्झौताबमोजिम त्यस्ता दल वा समूहका नेता तथा कार्यकर्ताविरुद्ध चलाइएका जुनसुकै मुद्दा जुनसुकै तहको अदालतमा विचाराधीन रहेको भए पनि फिर्ता लिने ।’
