काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद स्वतः निलम्बनमा पर्ने भएपछि रास्वपा कार्यवाहक सभापति डीपी अर्याल बन्ने खबरदेखि सहकारी ठगीमा पत्नी अञ्जला कोइरालाका नाममा मोरङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको विषयमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफूमाथि उठेका सबै प्रश्नको जवाफ दिन तयार रहेको विषयसम्म आज चर्चामा रहे ।
रास्वपाले उपसभापति अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ । सोमबार बसेको रास्वपा सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति अर्याललाई दिने निर्णय गरेको हो । रास्वपा सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएपछि सांसद पद स्वतः निलम्बनमा पर्ने भएको छ । त्यसैले रास्वपाले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफूमाथि उठेका सबै प्रश्नको जवाफ दिन तयार रहेको बताएका छन् । पोखरेलकी पत्नी अञ्जला कोइरालाका नाममा मोरङ जिल्ला अदालतबाट सहकारी ठगीमा पक्राउ पुर्जी जारी भएको छ । त्यो विषयलाई लिएर सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा प्रश्न उठेको थियो । सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा सभापति पोखरेलले भने, 'बैठकमा केही विषयवस्तु व्यक्तिगत रूपमा उठेका छन् । म सबै परीक्षामा संलग्न हुन तयार छु ।'
म सबै परीक्षामा सामेल हुन तयार छु : लेखा समिति सभापति पोखरेल
सहकारीको बचत अपचलनबाट आर्जित रकम जीबी राईले लीला पछाई र मलेसियाका एनआरएन विश्वविक्रम राईमार्फत ‘क्रिप्टो करेन्सी’ मा लगानी गरेको भेटिएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले पछाई र राईमार्फत १८ करोड ४८ लाख ८ हजार ८५ रुपैयाँ बराबरको डिजिटल कारोबार गरी क्रिप्टो करेन्सीमा लगानी गरेको फेला पारेको हो । रवि लामिछानेसहित आइतबार ४४ जनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर गर्ने क्रममा जिल्ला सरकारी वकिल कार्यालयले क्रिप्टो करेन्सीमा लगानी भएको प्रमाणसमेत बुझाएको छ ।
बीचमै कक्षा छाडेका तथा परीक्षामा अनुत्तीर्ण विद्यार्थीको नाम ग्रेसलिस्टमा समावेश भई दीक्षान्त समारोहबाट शैक्षिक उपाधि प्राप्त गरेको विषयमा काठमाडौं विश्वविद्यालय (केयू)ले छानिबन गर्ने भएको छ । छानबिनका लागि 'स्कुल अफ ल' का डिन हृषीकेश वाग्लेको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको केयूले जनाएको छ । कान्तिपुरले आइतबार ७ जना अनुत्तीर्ण विद्यार्थीलाई मंसिर २९ गते प्रधानमन्त्री तथा कूलपति केपी शर्मा ओलीको उपस्थितिमा आयोजित दीक्षान्त समारोहमा शैक्षिक उपाधि प्रदान गर्ने निर्णय गरिएको समाचार प्रकाशित गरेको थियो ।
