काठमाडौँ — बीचमै कक्षा छाडेका तथा परीक्षामा अनुत्तिर्ण विद्यार्थीको नाम ग्र्रेसलिस्टमा समावेश भई दीक्षान्त समारोहबाट शैक्षिक उपाधि प्राप्त गरेको विषयमा काठमाडौं विश्वविद्यालय(केयू)ले छानिबन गर्ने भएको छ । छानबिनका लागि 'स्कुल अफ ल' का डिन हृषिकेश वाग्लेकाे सयाेजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको केयूले जनाएको छ ।
समितिमा पूर्वपरीक्षा नियन्त्रक पन्ना थापा र पूर्वपरीक्षा सहनिर्देशक वीरेन्द्रबहादुर लाखे सदस्य रहेका छन् । यस विषयमा गम्भीर अनुसन्धान गरी भविष्यमा यस्ता कमजोरी हुन नदिन छानबिन एवं अध्ययन गर्नुपर्ने आवश्यकता देखिएकाले कार्यकारी परिषद्ले समितिले गठन गरेको केयूका प्रवक्ता एक्कुमाया पुनले जानकारी दिइन् । समितिले प्रतिवेदन बुझाउन एक साताको समय दिइएको छ ।
प्रवक्ता पुनले विज्ञप्ति जारी गर्दै स्कुल अफ म्यानेजमेन्टअर्न्तगत डिग्री पूर्ण नभएका र बीचमै अध्ययन छाडी गएका समेत अनुत्तीर्ण ८ जना विद्यार्थीको नाम ग्रेसलिस्टमा पपर्न गएको जनाएकी छिन् । कान्तिपुरले आइतबार ७ जना अनुत्तीर्ण विद्यार्थीलाई मंसिर २९ गते प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको उपस्थितिमा आयोजित दीक्षान्त समारोहमा शैक्षिक उपाधि प्रदान गर्ने निर्णय गरिएको समाचार प्रकाशित गरेको थियो । आइतबार नै बसेको कार्यकारी परिषद् बैठकले छानबिन समिति गठन गरेको हो । उक्त विषयमा रजिस्ट्रार अच्युत वाग्लेले आन्तरिक अनुसन्धान गर्न निर्देशन दिइसकेको समेत केयूले जनाएको छ । त्यस क्रममा परीक्षा नियन्त्रण कार्यालयमा कार्यरत अधिकृत सीएन खड्गाले गल्ती स्वीकार गर्दै स्पष्टीकरण दिएको समेत केयूले जनाएको छ ।
खड्गाले दिएको स्पष्टीकरणमा बीबीए कार्यक्रममा डिग्री पूर्ण नभएका वा बीचमै अध्ययन छाडिसकेका विद्यार्थीहरूको नाम त्रुटिवश ग्रेसलिस्टमा पर्न गएको पाइएको उल्लेख गरिएको छ । उनले लेखेका छन्, ‘त्रुटिका लागि गम्भीरतापूर्वक क्षमा माग्दै उक्त नामहरू ग्रेसलिस्टबाट हटाई ग्रेसलिस्ट सच्याउन र तिनीहरूको डिग्री प्रमाणपत्र नष्ट गर्न अनुरोध गर्दछु ।’
खड्गाले ९ जना विद्यार्थीको सूचीसमेत बुझाएका छन् । खड्गाले परीक्षा नियन्त्रकलाई लेखेको स्पष्टीकरणमा पत्रमा विद्यार्थीको विवरण अद्यावधिक नगरी विवरण पठाएकाले अयोग्य विद्यार्थीहरूको नाम पनि सूचीमा पर्न गएको स्वीकार गरेका छन् । आगामी दिनमा पटक/पटक वितरण तथा तथ्याङ्क रुजु गरेर काम गर्ने भन्दै त्रुटि नदोहोर्याउने प्रतिबद्धतासमेत उनले गरेका छन् । स्रोतका अनुसार खड्गा यसअघि पनि यस्तै लापर्बाही र बदमासीपूर्ण काममा संलग्न रहदै आएकाले सचेत गराई काममा लगाउँदै आएका व्यक्ति हुन् । ती विद्यार्थीले दीक्षान्त समारोहबाट शैक्षिक उपाधि प्राप्त गरे पनि प्रमाणपत्र भने नलिएको केयूले दाबी गर्दै आएको छ ।
