काठमाडौँ — सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफूमाथि उठेका सबै प्रश्नको जवाफ दिन तयार रहेको बताएका छन् । पोखरेलकी पत्नी अञ्जला कोइरालाका नाममा मोरङ जिल्ला अदालतबाट सहकारी ठगीमा पक्राउ पूर्जी जारी भएको छ । त्यो विषयलाई लिएर सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा प्रश्न उठेको थियो ।
सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा सभापति पोखरेलले आफू सबै कुराको कानुनी रूपमा सामना गर्न तयार रहेको बताए । 'यहाँ बैठकमा केही विषयवस्तुहरू व्यक्तिगत रूपमा यहाँ उठेका छन् । म सबै परीक्षामा संलग्न हुन तयार छु,' उनले भने, 'नेपालको कानुन, संविधानसँग विश्वास गर्ने व्यक्ति हो ।'
सांसदहरूले उठाएका विषयप्रति आफ्नो कुनै जवाफ नभएको र सदासयतामा उठेका विषयप्रति आभार रहेको बताएका थिए ।
समितिको काममाथि सार्वजनिक रूपमा उठेका प्रश्न सही नभएको पनि सभापति पोखरेलको दाबी थियो । उनले भने, 'बेनामे दिएका उजुरीमाथि सार्वजनिक लेखा समितिको काम भयो भनियो तर समितिको मूल काम भने छायामा पर्यो । ११२ बैठक भइसकेछ । मूल काम गरेकै हो । ती विषयवस्तुलाई ख्याल गर्नुपर्ने हो ।'
सार्वजनिक लेखा समितिको बैठक ४ महिनापछि बसेको हो । यसअघि सार्वजनिक लेखा समितिको बैठक भदौ ९ मा बसेको थियो ।
समितिको सोमबारको बैठकमा सभापतिलाई पदबाट राजीनामा गर्न पनि माग गरिएको थियो ।
