साई स्वागत सहकारी ठगीमा जंगम र दाहाल पक्राउ

काठमाडौं महानगरपालिकाको अध्ययन प्रतिवेदनका आधारमा अनुसन्धान थालेको जिल्ला प्रहरी परिसरले जंगम र दाहाललाई आइतबार बिजुली बजारबाट पक्राउ गरेको हो ।

पुस ८, २०८१

कान्तिपुर संवाददाता

Jangam and Dahal arrested in Sai Swagat cooperative fraud

काठमाडौँ — साई स्वागत सहकारीका पूर्वअध्यक्ष भरतमणि जंगम र पूर्वकोषाध्यक्ष लुमन दाहाल बचतकर्ताको रकम हिनामिना आरोपमा पक्राउ परेका छन् । जंगम र दाहाल सहकारीमा पदाधिकारी भएकै बेला रास्वपाका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल उपाध्यक्ष थिइन् ।

काठमाडौं महानगरपालिकाको अध्ययन प्रतिवेदनका आधारमा अनुसन्धान थालेको जिल्ला प्रहरी परिसरले जंगम र दाहाललाई आइतबार बिजुली बजारबाट पक्राउ गरेको हो । महानगरले गत मंसिर १८ मा तत्तत् समयका सबै सञ्चालकविरुद्ध थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको थियो । सहकारीमा पदाधिकारी हुँदा बचतकर्ताको रकम हिनामिना गरेको आरोप अनुसन्धानका लागि जंगम र दाहाललाई पक्राउ गरिएको परिसरका प्रहरी उपरीक्षक (एसपी) एवं प्रवक्ता नवराज अधिकारीले बताए । ‘आइतबार नै अदालतबाट ५ दिनको म्याद लिएर उनीहरूमाथि अनुसन्धान सुरु गरिएको छ,’ उनले भने । 

सहकारीमा २०७५ पुस २८ को साधारणसभाबाट जंगम अध्यक्ष, पौडेल उपाध्यक्ष, शंकर उपाध्याय दाहाल सचिव र लुमन दाहाल कोषाध्यक्ष चुनिएका थिए । त्यति बेला सदस्यमा पुरुषोत्तम अधिकारी, रजनीश आचार्य र निशा केसी थिए । 

लेखा समिति संयोजकमा रामहरि अधिकारी, सदस्यमा जनक गौतम र केदारबहादुर दाहाल थिए । 

भ्रष्टाचारविरोधी अभियन्ता भनेर चिनिने जंगम कुनै बेला न्युज २४ टेलिभिजनमा कार्यक्रम चलाउँथे । त्यही टेलिभिजनमा लामिछानेसँग मित्रता बढेपछि सहकारीको ऋण दिलाउन सहयोग गरेको बयान उनले काठमाडौं महानगरलाई दिएका थिए । पौडेलले उपाध्यक्ष रहेकै बखत धितो नराखी सहकारीबाट ५० लाख ऋण लिएकी थिइन् । त्यस्तै प्रवृत्तिमा ऋण प्रवाह गरिँदा सहकारी संकटमा परेको भन्दै बचतकर्ताले महानगरमा उजुरी दिएका थिए । उजुरीमा बचतकर्ताको करिब १ करोड ९ लाख रुपैयाँ साँवा मागदाबी गरिएको थियो । सहकारी संस्थामा गम्भीर त्रुटि तथा जालसाजी गरेको भेटिएको महानगरको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

महानगर कार्यालयमा रहेको अभिलेखअनुसार संस्था दर्ताको बखत गठन भएको तदर्थ सञ्चालक समितिमा अध्यक्ष अर्जॅन श्रेष्ठ, उपाध्यक्ष जागेश्वर यादव, सचिव सन्तोष किशोर लाभ र कोषाध्यक्ष अमरलाल श्रेष्ठ थिए । समितिमा सरोज श्रेष्ठ, मनोज देवकोटा र मृगेन्द्र राजभण्डारी सदस्य थिए । ०६६ माघ १६ मा भएको प्रारम्भिक साधारणसभाले त्यही कार्यसमितिलाई निर्वाचित गरेको थियो । ०६९ असोज २७ र ०७२ पुस २५ मा भएको वार्षिक साधारणसभाले पनि त्यही कार्यसमितिलाई नै निरन्तरता दिएको थियो । 

०७४ पुस २२ को साधारणसभाले भने नयाँ सञ्चालक समिति चयन गर्‍यो, जसमा अध्यक्ष नोखराज पोखरेल, उपाध्यक्ष लुमन दाहाल, सचिव शेखर उपाध्याय दाहाल र कोषाध्यक्ष योगिता पुन रहेका थिए । समितिमा सरोज लामिछाने, रजनीश आचार्य र लिससा पौडेल सदस्य थिए । साधारणसभाले लेखा समिति संयोजकमा रामहरि अधिकारी, लेखा समिति सदस्यमा केदारबहादुर रावल र शैली थापा चयन गरेको थियो । सहकारी संस्थाबाट ०८० असार १० मा प्राप्त पत्रमा निकिता पौडेलले उपाध्यक्ष पदबाट राजीनामा गरेको भनिएको महानगरले जनाएको छ । 

कारोबार बिग्रिएपछि सहकारीमा सदस्य नै नरहेकी निमकुमारी छन्तेललाई अध्यक्ष बनाएको पाइएको छ । यो विषय पनि विवादित छ । जंगम नेतृत्वको कार्यसमितिले संस्थाको रकम हिनामिनाबाट जोगिन छन्तेललाई अध्यक्ष बनाएको विषय प्रहरीलाई पठाइएको पत्रमा महानगरले प्राथमिकतासाथ उल्लेख गरेको थियो ।

‘०७८ साउन २८ को संस्थाका तत्कालीन सचिव तथा व्यवस्थापक शंकर उपाध्याय दाहाल, लेखा समिति संयोजक रामहरि अधिकारी र सदस्य जनक गौतम तथा अध्यक्ष भरतमणि जंगमबीच करारनामा गरी संस्थाको तत्कालीन अध्यक्षलाई जिम्मेवारीमुक्त गर्ने मनसायबाट ०७९ मंसिर १२ मा संस्थाको सदस्य नभएकी निमकुमारी छन्तेललाई सञ्चालक समितिमा अध्यक्ष बनाएको देखिएको छ,’ पत्रमा भनिएको थियो, ‘साधारणसभामा अनुपस्थित तथा सदस्य नरहेको व्यक्ति निशा खड्का उपाध्यक्षलगायतका अन्य पदाधिकारी नियुक्ति गरी तत्कालीन सञ्चालक समिति बचतकर्ताको बचत फिर्ता गर्ने जिम्मेवारीबाट उम्किने गरी कार्य गरेको जस्तो देखिएको छ । त्यतिबेला समितिमा नियुक्त अधिकांश मानिस संस्थाको सम्पर्कमा पनि रहेका छैनन् ।’ 

जोरपाटीमा डेरा बसेर तीन छोराछोरी हुर्काइरहेकी एकल महिला छन्तेल सहकारीकी सदस्य तथा ऋणी होइनन् । सहकारी करोडौं बचत अपचलनको अनुसन्धानमा तानिएपछि मात्र उनले संस्थाको हविगत थाहा पाएकी थिइन् । योजनाकारलाई उम्काउने उद्देश्यले मासिक १५ हजार तलब हुने भन्दै फकाएर छन्तेललाई अध्यक्षमा राखिएको महानगरको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । महानगरका अनुसार करिब डेढ महिनाअघि भने जंगमकै अध्यक्षतामा सहकारीको नयाँ सञ्चालक समिति बनेको जानकारी आएको थियो । ‘तर पटकपटक ताकेता गर्दा पनि नयाँ कार्यसमितिको विवरण उपलब्ध गराइएन,’ महानगरका एक अधिकारीले भने । 

साई स्वागत सहकारीले सदस्य नबनेकासँग कारोबार गरेको, कार्यक्षेत्रबाहिर पनि कारोबार गरेको पाइएको छ । पदाधिकारी आफैंले ऋण लिने, बिनाधितो कारोबार गर्ने र रकम आफूखुसी खर्च गर्ने प्रवृत्तिका कारण साई स्वागत सहकारी संकटमा परेको बचतकर्ताको भनाइ छ ।

कान्तिपुर

Link copied successfully