कान्तिपुर न्यूज ब्रिफ : आज दिनभर देशमा के-के भयो ?

रवि लामिछानेलाई थप ४ दिनमा हिरासतमा राख्न अदालतको अनुमतिदेखि संसदको लेखा समिति सभापति ऋषिकेश पोखरेलपत्नी अञ्जला कोइरालासहित २५ जना विरुद्ध पुर्जी जारीसम्म

पुस २, २०८१

कान्तिपुर संवाददाता

Kantipur News Brief: What happened in the country today?

काठमाडौँ — आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएकोदेखि लेखा समिति सभापति ऋषिकेश पोखरेलपत्नी अञ्जला कोइरालासहित २५ जनाविरुद्ध मोरङ जिल्ला अदालतले मंगलबार पक्राउ पुर्जी जारी लगायतका समाचार प्रकाशित भएका छन् ।

000

आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधानमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । मंगलबार न्यायाधीश हिमलाल बेलबासेको इजलासले लामिछानेसहित छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङलाई हिरासतमा राख्न म्याद थप गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामे उजुरी दिन नपाउने व्यवस्था गर्नका लागि केही संसदहरु सक्रिय भएका थिए । तर प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयकमा अख्तियारमा दर्ता हुनजाने उजुरीकर्ताका नाम र ठेगाना उल्लेख नभएका उजुरी पनि दर्ता हुन पाउने व्यवस्थालाई संशोधन नगर्ने सहमति जुट्यो । यो सँगै आफ्नो नाम र ठेगाना उल्लेख नगरी उजुरी दर्ता गराउन पाउने व्यवस्था यथावत रहने भएको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल)को आयोजक नेपाल क्रिकेट संघ क्यानले आज विजेता टोलीका लागि पुरस्कारको घोषणा गरेको छ । क्यानका अनुसार विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउने भएको छ । उपविजेताले ५१ लाख र तेस्रो स्थानमा रहनेले २५ लाख पाउँदा चौथो हुनेले १५ लाख पुरस्कार पाउने छन् ।

लामो समयदेखि निर्माणधीन नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रभावित क्षेत्रका स्थानीयलाई क्षतिपूर्ति दिने विषय किचलोमा रुपमा रहेको थियो । पछिल्लो मन्त्रिपरिषद् बैठकले सुरुङ मार्ग आयोजना अन्तर्गत क्षतिपूर्ति तथा समस्या समाधानका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेसँगै प्रभावित क्षेत्रका स्थानीयले उठाउँदै आएको माग सम्बोधन हुने भएको छ । अब प्रभावित स्थानीयले क्षतिपूर्ति पाउनेछन् । 

नेपाल विद्युत् प्राधिकरण ले ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन सुरु नभएसम्म बढी विद्युत् माग हुने साँझको समय (पिक आवर) मा औद्योगिक क्षेत्रको विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार चसिोका कारण यतिबेला विद्युत् माग बढ्दो छ । तर नेपालको विद्युत् प्रणालीमा सबैभन्दा बढी हिस्सा रहेको जलविद्युत् आयोजनाहरुको उत्पादन घट्ने अवस्था छ । 

मोरङको धनपालथान गाउँपालिका–३ को उमा–गौरी सहकारीको रकमअपचलन मुद्दाको अनुसन्धान अब सुरु हुने भएको छ । किनकि यो मुद्दाका प्रतिवादी संघीय संसद्को लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अञ्जला कोइरालासहित २५ जनाविरुद्ध मोरङ जिल्ला अदालतले पक्राउ पुर्जी जारी भएको गरेको छ । जिल्ला अदालत मोरङका न्यायाधीश अरुणकुमार झाको इजलासले कोइरालासहित २५ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जनाए ।

कान्तिपुर संवाददाता

Link copied successfully