सहकारी ठगीमा लेखा समिति सभापतिकी पत्नी कोइरालासहित २५ जनाविरुद्ध पक्राउ पुर्जी

पुस २, २०८१

कान्तिपुर संवाददाता

Arrest warrant issued against 25 persons including Koirala, wife of Audit Committee Chairman, in co-operative fraud

विराटनगर — मोरङको धनपालथान गाउँपालिका–३ को उमा-गौरी सहकारीको रकम अपचलन मुद्दाका प्रतिवादी संघीय संसद्को लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अञ्जला कोइरालासहित २५ जनाविरुद्ध मोरङ जिल्ला अदालतले मंगलबार पक्राउ पुर्जी जारी भएको गरेको छ । 

जिल्ला अदालत मोरङका न्यायाधीश अरुणकुमार झाको इजलासले कोइरालासहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जनाए । 

‘पक्राउ पुर्जी जारी गरी  इलाका प्रहरी कार्यालय रंगेलीलाई पठाइएको छ’, बुढाथोकीले भने, ‘सात दिनभित्र प्रतिवादीहरू  पक्राउ नपरे प्रहरीले सम्बन्धित व्यक्ति र प्रतिवादीको घरमा तामेली गर्नेछ । म्याद गुजार्दा कानुनबमोजिम प्रक्रिया अगाडि बढ्नेछ ।’

प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा मंसिर  २७ गते जिल्ला सरकारी वकिलको कार्यालयले कोइरालासहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । त्यसअघि २४ भदौमा सहकारी रजिस्ट्रार कार्यालय कोशीले पोखरेल पत्नीको नाम काटेर अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष लक्ष्मण शाह, सचिव आलम अन्सारी मियाँ, कोषाध्यक्ष शम्भुप्रसाद सिंह तथा सदस्यहरू आमोद मण्डल, रोशन राजवंशी र जीतमान ठाकुरको नाम अनुसन्धान गर्न प्रहरीलाई पठाएको हो ।

त्यस्तै, लेखा समिति संयोजक विजयकुमार यादव, सदस्यहरू सुरेन्द्रकुमार राजवंशी र ओशककुमार विश्वासको नाममा समेत थप अनुसन्धानका लागि प्रहरीमा पत्र पठाइएको छ ।

इलाका प्रहरी कार्यालय रंगेलीले अनुसन्धान गरी बुझाएको प्रतिवेदनउपर अभियोजन गरेर सरकारी वकिलको कार्यालय मोरङले गत शुक्रबार पोखरेलपत्नी अञ्जला र सहकारीका अध्यक्ष शम्भु रौनियारसहित २६ जनाविरुद्ध २२ करोड बिगोसहित मुद्दा दर्ता गरेको थियो ।

कान्तिपुर

Link copied successfully