नेपालमा जुनसुकै खेलका दर्शक, शुभचिन्तक जति धेरै छन्, खेलाडीको भविष्य भने खासै उज्ज्वल मानिँदैन, यसप्रति सरकार नै उदासीन रहेको खेल क्षेत्रसँग सम्बन्धितहरूको गुनासो रहने गरेको छ, सरकार भने लगानीबिनाको प्रतिफल खोज्नमा नै व्यस्त छ।
काठमाडौँ — नेपालीमा उखानै छ, ‘सुखमा नमात्तिनु, दुःखमा नआत्तिनु ।’ यो कुरा खेल क्षेत्रमा ठ्याक्कै लागू हुने बताउँछिन्, टेबल टेनिसकी खेलाडी सिक्का सुवाल श्रेष्ठ । थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेकी उनलाई एक पटक मात्र जितेरपुग्छ जस्तो लाग्दैन ।
‘शीर्ष स्थानमा रहिरहन एकदमै चुनौती हुन्छ,’ उनी भन्छिन्, ‘किनभने त्यो स्थानमा टिकिरहन थोरै मात्र ठाउँ हुन्छ ।’
एकै वर्षमा ८ पटकसम्म फाइनलमा पुगेर हारेको अनुभव छ उनीसँग । थप्छिन्, ‘त्यतिबेला त अब कहिल्यै टेनिस खेल्दिनँ भन्ने लाग्यो । तर, एक सातापछि फेरि खेल्न मन लागिहाल्यो । हारेर फेरि भोलि खेल्छु भनेर खेलाडीलाई प्रेरणा आउनु एकदमै गाह्रो हुन्छ ।’
हार र जित खेलाडीका लागि स्वाभाविक परिणाम त हो नै, तर पनि जित्दा झन् गाह्रो हुने श्रेष्ठको अनुभव रहेछ । ‘हार्दा भोलि राम्रो गर्छु भन्ने लाग्छ । तर जितमा त्यो स्थान जोगाएर राख्न सकिन्न कि भन्ने डर भइरहन्छ,’ उनी भन्छिन् ।
पछिल्लो साढे तीन वर्षदेखि लङ टेनिसमा नेपालको ‘नम्बर वान’ खेलाडीको स्थान ओगटेका प्रदीप खड्कालाई टेनिस खेल्न सुरु गर्दा जितहारको खासै वास्ता थिएन । एक पटक उनी प्रतियोगिता जितेर घर (पोखरा) गए । टोलटोलमा सबैले बधाई दिए, समाचार छापिए । घरमा उनलाई देख्ना साथ आमा हर्षले रोइन् । त्यतिबेला उनलाई ठूलो काम गरेजस्तो लाग्यो । त्यसपछि उनले लगातार १४ वटा टाइटल जिते । राम्रो खेलाडीलाई ‘पोजिसन’ कायम राख्न एकदमै गाह्रो हुने उनी बताउँछन् ।
त्रिभुवन विश्वविद्यालयबाट स्पोर्टस् साइन्समा स्नातकोत्तर गरिरहेकी सिक्कालाई नेपालको खेल क्षेत्र देख्दा विरक्त लाग्छ । भन्छिन्, ‘हरेक दिन खेलाडीहरू विदेशिएको समाचार आइरहन्छ । खेलाडीहरू विदेशिएको खबरले मेरो पनि घरबाट दबाब आउँछ । मैले प्रशिक्षण गराउने विद्यालयमा धेरै प्रतिभाशाली भाइबहिनी छन् । उनीहरूलाई देशका लागि खेल्न कसरी वातावरण मिलाउन सकिएला भन्ने चिन्ता लाग्छ ।’
उनी थप्छिन्, ‘खेलाडीलाई सरकारले देशमा बस्ने वातावरण मिलाइदिनुपर्छ । केही समयअघि ओलम्पिकमा राम्रो रिजल्ट आएन भनेर भारतीय संसद् भवनमा बहस नै भयो । हाम्रोमा त संसद् भवनमा झगडा मात्र हुन्छ, खेल क्षेत्रलाई कसरी अगाडि लैजान सकिन्छ भनेर बहस हुँदैन ।’
जुनियर्स टेबल टेनिसकी खेलाडी इभाना थापा भन्छिन्, ‘सिनियर खेलाडीहरूले जुनियरहरूलाई पनि मौका दिनुपर्छ ।’ खेल क्षेत्रमा भनेजस्तो सुधार नआउनुमा उनलाई खेलमा सरकारले पर्याप्त लगानी नगरेर जस्तो लाग्छ । थप्छिन्, ‘नेपालमा खेल्ने ठाउँ पनि राम्रो छैन । नेसनल हल राम्रो हुनुपर्यो । अस्तिसम्म त त्यहाँ लाइट पनि थिएन, सिलिङबाट पानी चुहिन्थ्यो । कहिले छत झर्छ भन्ने डर हुन्थ्यो ।’ देशको अवस्था देखेर प्रदीपलाई खेल्न मन छैन ।
भन्छन्, ‘नेपाललाई प्रतिनिधित्व गर्दै २० वटा जति प्रतियोगिता खेले तर अहिले मलाई खेल्न मन छैन । परिवारबाट नै खेलेर के पाइस् भन्नुहुन्छ । ट्रफी, मेडल र सर्टिफिकेटबाहेक । मेरो त घरमा ट्रफी राख्ने ठाउँ पनि छैन ।’
टेनिस विश्वकै दोस्रो महँगो खेलमा पर्छ । टेनिस सम्भ्रान्त परिवारले खेल्ने खेल हो भन्ने आम बुझाइ छ । प्रदीप सुनाउँछन्, ‘सरकारले पनि धनीहरूले खेल्छन्, किन हामीले प्रोत्साहन गर्ने भन्ने सोच राख्छन् । मिडिया कभरेज पनि कम हुन्छ । जसले गर्दा खेलाडीहरूले एक्सपोजर नै पाउँदैनन् ।’
टेनिस सिक्नलाई मात्र कोचलाई मासिक ९० हजार तिर्नुपर्छ । राम्रो कोच राख्दा प्रतिघण्टा ३ हजार खर्चनुपर्छ । बलकै १ हजार रुपैयाँ पर्छ । ट्रेनिङ गर्दा दिनमा ३ वटा बल फुट्छ । दैनिक झन्डै ६ हजार रुपैयाँ खर्च गरेर ट्रेनिङ गर्नुपर्छ । प्रदीप थप्छन्, ‘धनीको खेल भनेपछि म जस्तो स्ट्रिट लेभलबाट आएको खेलाडीलाई गाह्रो हुन्छ । स्पोन्सर छैन । आफ्नो लगानीमा कति दिन खेल्न सकिएला ।’
‘नेपाल सबै खेलमा चुकेको नै भौतिक पूर्वाधारमा हो,’ सिक्का भन्छिन्, ‘खेलसम्बन्धी कुनै ज्ञान नै नभएको खेलकुदको मन्त्री हुन्छन् । खेलबारे ज्ञान नभएकाले खेल क्षेत्रलाई कसरी अगाडि बढाउन सक्छन् । युवा तथा खेलकुदमन्त्री भन्ने बेलामा मात्रै हो, मन्त्री बन्दा उमेर पुगेकाहरू बन्छन् ।’ प्रदीपलाई राजनीतिक अस्थिरताको कारण खेल क्षेत्रको विकास हुन नसकेको जस्तो छ । भन्छन्, ‘आज एउटा मन्त्री हुन्छ उसलाई सबै समस्या भन्छौं, समाधान पनि खोजिन्छ तर अर्को पटक जाँदा मन्त्री नै परिवर्तन भइसकेको हुन्छ ।’
इभानाको बुझाइमा नेपालका खेलाडीहरूले भनेजस्तो रिजल्ट नल्याउनुमा धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउनु हो जस्तो लाग्छ । उनी भन्छिन्, ‘अन्तर्राष्ट्रियस्तरमा खेल्न जाँदा त्यहाँ र यहाँबीच धेरै फरक पाउँछु । उताको खेलाडीहरू धेरै अनुभवी भएर होला, उनीहरूसँग छुट्टै आत्मविश्वास हुन्छ । हामीले एउटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न वर्षौंसम्म कुर्नुपर्छ । उनीहरूले वर्षमै १०/१५ वटा गेम खेलिरहेको हुन्छ । हाम्रो र उनीहरूको लेभल नै म्याच हुँदैन ।’
प्रदीप भन्छन्, ‘नेपालका खेलकुद मन्त्रालय र फेडरेसन हाम्रो अभिभावक हुन् । खेलाडीहरूले स–साना कुरामा नै सोच्नुपर्यो भने हामीले खेलमा शतप्रतिशत समय कसरी दिन सक्छौं ?
