काठमाडौँ — संगीतकार एवं तबलावादनका उस्ताद जाकिर हुसेनको ७३ वर्षको उमेरमा आइतबार साँझ निधन भएको छ । अमेरिकाको सान फ्रान्सिस्को अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनी कलेजोसम्बन्धी समस्याबाट गुज्रिरहेका थिए ।
तबलावादकका रूपमा उनले संगीत क्षेत्रको विश्वचर्चित ग्रामी अवार्डस् चारपटक प्राप्त गरेका थिए । तबलावादनलाई नयाँ पहिचानसहित विश्वव्यापी मञ्च उपलबध् गराएको जस उनलाई दिने गरिन्छ । उनले भारतीय र अन्तराष्ट्रिय कलाकारहरूसँगको सहकार्यमा विभिन्न विधा र शैलीका संगीतमा वाद्यवादन गरेका थिए ।
उनले सन् २०१८ मा सार्वजनिक भएको नवाजुद्दिन सिद्दिकी अभिनित ‘मन्टो’ फिल्म, सन् २००२ मा बनेको अर्पणा सेनको ‘मिस्टर एन्ड मिसेस अैयर’, देव पटेलको ‘द मन्की म्यान’ सँगै समिक्षकहरूले विशेष तारिफ गरेको ‘वनप्रस्थम’ जस्ता फिल्मका लागि संगीत तयार गरेका थिए । उनले सन् १९९३ को ‘लिटल बुद्ध’ लगायत कयौं फिल्मका लागि साउन्डट्रयाक बनाइदिएका थिए ।
भारतीय शास्त्रीय संगीतको संरक्षण एवं प्रवर्द्धनका लागि उनले आवाज उठाउने गरेका थिए । उनलाई सन् १९८८ मा पद्मश्री, २००२ मा पद्म भूषण र २०२३ मा पद्म विभूषण पदकबाट भारत सरकारले सम्मान गरेको थियो । उनले २०७५ मंसीरमा काठमाडौंस्थित भारतीय दूतावासले आयोजना गरेको कार्यक्रममा प्रस्तुति दिएका थिए ।
यो हेर्नुस् :
