जाकिरको जादुगरी

मंसिर १२, २०७५

कान्तिपुर संवाददाता

काठमाडौँ — चिसो साँझमा उस्तादलाई पर्खिरहेका दर्शकश्रोता उनको प्रस्तुतिमा रोमाञ्चित बने । यस्तो हुनु स्वाभाविक थियो, किनभने विश्वकै लोकप्रिय तबलावादक जाकिर हुसेन स्टेजमा थिए । उनका औँला मेसिनभन्दा छिटो चलेको देख्दा दर्शकदीर्घा पटकैपिच्छे ताली बजाउन बाध्य भयो ।

जाकिरका जादूयी हात तबलामा यति अभ्यस्त देखिए, उनले घोप्टेर एक पटक पनि बाजातर्फ हेरेनन् । बरु, दर्शकश्रोतासँग आँखा जुधाएर चपलतासाथ तबला बजाइरहे । उनले आधुनिक तथा शास्त्रीय वादनमार्फत समस्त दर्शकश्रोतालाई मन्त्रमुग्ध बनाए ।


भारतीय दूतावासको आयोजनामा जाकिरले करिब दुई दशकपछि मंगलबार काठमाडौंमा प्रस्तुति दिएका हुन् । लैनचौरस्थित दूतावासको इन्डिया हाउस प्रांगणमा उनी आफ्नो पाँच सदस्यीय टोलीसहित उपस्थित थिए । ‘आज जेजे हुन गइरहेको छ, त्यो मेरो मात्र कन्सेप्ट होइन,’ जाकिरले प्रस्तुतिपूर्व भने, ‘म हाम्रो टोलीको बिग बोस होइन । चारमध्ये एक हुँ । हामी सबैलाई समान प्रेमले सुनिदिनुस् ।’


जाकिरसँग सारंगीमा शबिर खान, ढोलकमा नवीन शर्मा र मृदंगमा अनन्त कृष्णन थिए ।

कन्सर्टको सुरुवात शबिरको सारंगीवादनमार्फत गरिएको थियो । उनलाई जाकिरले पछयाए अनि जाकिरपछि नवीन र अन्त्यमा मृदंगसहित अनन्त त्यसमा जोडिएका थिए । चार जनाको जुगलबन्दी बेजोड सुनियो । कोभन्दा को कमझैं भए ।


‘हामी चारै जना फरक पृष्ठभूमिका हौं,’ जाकिरले भने, ‘फरक बाजा बजाउँछौं । हामीले बोल्ने भाषा फरक भए पनि सुनाउने कथा एउटै छ ।’


कन्सर्टका लागि जाकिर समूहले विभिन्न रागरागिनीलाई नौलो किसिमले कोरियोग्राफी गरेको थियो । दर्शकदीर्घामा राजनीतिक व्यक्तित्व, कूटनीतिज्ञ, संगीतकर्मी, साहित्यकारलगायत थिए ।

जाकिरले सन् १९९७ मा बाँसुरीवादक हरिप्रसाद चौरसिया र २००१ मा उस्ताद सुल्तान खानसँग पनि नेपालमा कन्सर्ट गरेका थिए । ‘हाम्रो लागि बाटो खुला राखिदिनुभएकोमा धन्यवाद दिन चाहन्छौं,’ उनले भने, ‘कलाकारका लागि कुनै घेरा निर्माण भएको हुँदैन । हामी सबै कलामार्फत एक ठाउँमा भेला हुन सक्छौं ।’


आफूहरूको निम्तो स्विकारिदिएकोमा जाकिर टोलीलाई भारतीय राजदूत मन्जिभ सिंह पुरीले पनि धन्यवाद दिए । उनले नेपाली दर्शकको उल्लेख्य उपस्थितिको पनि सराहना गरे । ‘हामी अर्को पटक पनि यस्ता कार्यक्रम गर्नेछौं,’ उनले भने, ‘दुई देशलाई जोड्न सांस्कृतिक कार्यक्रम पुल बन्नेछन् ।’


नेपाल–भारत कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा ‘जाकिर हुसेन इन कन्सर्ट’ आयोजना गरिएको उनले जनाए ।

कान्तिपुर

Link copied successfully