आफ्नै राणा खलकभित्रका विलासिता र भव्य जीवनशैलीका विवरण तिथिमितिसहित लेख्ने आँटिला इतिहासकार पुरुषोत्तमशमशेरको निधन
काठमाडौँ — राणा खलक र राणाकालमाथि ‘आधिकारिक’ इतिहास लेख्थे– पुरुषोत्तमशमशेर जबरा । राणाहरूकै आलोचना गर्थे । असलमा उनी थिए– एक विद्रोही राणा । जो लेख्थे राणाका विलासिता र भव्य जीवनशैलीका विवरणहरू तिथिमितिसहित ।
शमशेरको नेपाली इतिहास लेखनमा अद्भुत आभा छ । उनी अध्ययनव्यसनी इतिहासकार थिए, त्यसै गुणले उनलाई अरू राणाहरूको तुलनामा विशिष्ट बनाइदियो । तर, उनी महँगा र बिरलाकोटि राणाकालीन वैभवबाट सन्तुष्ट थिएनन् ।
आफ्नो अन्तिम किताब ‘जंगबहादुर र राणाकालीन दर्पण’ मा पुरुषोत्तमशमशेरले देवशमशेरको शासनकालमाथि विस्तारपूर्वक तस्बिरहरूसहित लेखेका छन् ।
उनका विलासी जीवन र लयमाथि आलोचना गरेका छन् । उनले किताबमा लेखेका छन्, ‘देवशमशेर विलासिता मन पराउँथे । उनले अनावश्यक तडक–भडकमा राज्यकोष समाप्त पार्ने काम गरेका थिए । उनको १ सय १४ दिनको शासन अवधिमा अधिकांश दिन जुवामा बितेका थिए ।’
उनै इतिहासकार राणाको उपचारका क्रममा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा बिहीबार ९९ वर्षको उमेरमा निधन भएको छ । राणाका ‘श्री ३ हरूको तथ्य वृत्तान्त’ (तीन भाग), ‘राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू’, ‘सम्झेका र सुनेका कुराहरू’, ‘भएका र गुज्रेका घटनाहरू’, ‘लुकेछिपेका प्रतिभाहरू’, ‘मेरा जीवनका स्मृतिहरू’, ‘जंगबहादुर र राणाकालीन दर्पण’ पुस्तकहरू प्रकाशित छन् ।
इतिहासकार सागरशमशेरको विचारमा पुरुषोत्तमशमशेर एक सरल व्यक्ति र निपुण लेखक थिए, जसले राणाकालको इतिहासलाई विस्तृत रूपमा व्याख्या गरे ।
‘उहाँलाई नेपालको त्यस समयको इतिहासका लागि सदैव सम्झिनुपर्छ,’ सागरशमशेर भन्छन् । आफ्नो किताब ‘सिंहदरबार ः राइज एन्ड फल अफ राणा रेजिम् इन नेपाल’ लेख्ने क्रममा सागर पुरुषोत्तमशमशेरको घरमा पुगे । त्यसबेला राणाकालीन इतिहास र लेखनमाथि बहस–विमर्श भएको थियो । र, बहसको निष्कर्षकै आधारमा सागरशमशेरको त्यो किताबका केही राणाकालीन अंश आधिकारिक रूपमा प्रकाशित भए ।
पुरुषोत्तमशमशेरको जीवन उथलपुथलपूर्ण थियो । ०९० को भुइँचालोको केही महिनापछि उनको पूरै परिवार काठमाडौंबाट बाहिरियो । राणाको जन्म १९८२ चैत १५ मा काठमाडौंस्थित चारबुर्जा दरबार (हाल निर्वाचन आयोग रहेको भवन) मा भएको थियो । राणा रुद्रशमशेरका नाति र ईश्वरशमशेरका छोरा हुन् ।
जुद्धशमशेरले हजुरबुबा रुद्रशमशेरलाई पाल्पा लखेट्दा पुरुषोत्तम मात्र ८ वर्षका थिए । उनले पाल्पा दरबारमै लेखपढ गरे । भारतको यूपी बोर्डबाट म्याट्रिक र बनारसको जयनारायण कलेजबाट इन्टरमिडियट पास गरे ।
इतिहासकार पुरुषोत्तमशमशेरका सबै किताबको संग्रह गरेका छन् अर्का इतिहासकार महेशराज पन्तले । महेशराज पन्तका अनुसार, नेपालमा जम्मा चार थरीका लेखक/कवि छन् । एक : बन्दी (जसको पनि तारिफ गर्ने), दुई : नागरक (जिन्दगी आनन्दसँग बिताउने र ज्ञान भएका तर खतरा नमोल्ने), तीन : घोषवृद्ध (आफू वरपरका विषय बयान गर्ने), चार : सत्री (कुनै उद्देश्यपूर्तिका लागि आफ्नो ज्ञान उपयोग गर्ने) ।
महेशराज पन्त पुरुषोत्तमलाई घोषवृद्धअन्तर्गत राख्छन् । ‘उहाँले श्री ३ हरूको तथ्य वृत्तान्त लेख्नुभयो, आफ्नै घर र आफन्तहरूको बयान गरेर । त्यो लेख्न कुनै गम्भीर अध्ययन–अनुसन्धान गर्नुपरेन । तर, त्यो इतिहास कुनै अंशमा आधिकारिक छ, कुनैमा छैन ।’
प्रजातन्त्रपछिको युगमा आफ्नो वंशबारे दमनशमशेर, पुरुषोत्तमशमशेर र प्रमोदशमशेरले किताब लेखेका छन् । त्यसमध्ये बढी सरस, प्रामाणिक र विस्तृतचाहिँ पुरुषोत्तमशमशेरकै किताब भएको महेशराज पन्तको बुझाइ छ ।
प्राइममिनिस्टरको रोलक्रमका दोस्रो व्यक्ति थिए– रुद्रशमसेर । उनलाई रोलक्रमबाट, कमान्डर इन चिफबाट र काठमाडौंबाटै लखेटेर पाल्पाको गभर्नर बनाएर पठाएका थिए जुद्धशमशेरले ।
‘विसं. १९९० चैत ५ मा जुद्धशमशेरले सर्वस्व हरण गरेर काठमाडौंबाट निष्कासन गर्दा बहुमूल्य पगरी–श्रीपेच मात्र होइन, जिजुमुवाले श्री ३ चन्द्रशमशेरसँग युरोप भ्रमण गर्न जाँदा महँगा जवाहरातहरू छिपाद्वारा जडान गर्न लगाई पगरी तयार गराउनुभएको थियो, सोही पगरी लगाई हजुरबुबा रुद्रशमशेरले युरोप भ्रमण गर्नुभयो,’ राणाले २०६५ सालमा कान्तिपुरको सह–प्रकाशन नेपाल म्यागजिनसँगको कुराकानीमा भनेका थिए, ‘सोही किमती पगरीसमेत लैजान दिइएन, जफत गरियो । हाम्रो काठमाडौंस्थित चारबुर्जा दरबार १ लाख ७५ हजार रुपैयाँमा रजिस्ट्रेसन पास गर्न लगाई जुद्धशमशेरले आफ्नो गराएका थिए तर त्यही रकम पनि हजुरबुबालाई दिइएन ।’ सो भवन पछि बहादुरशमशेरलाई दिएको र त्यसको नाम नै बहादुर भवन राखिएको उनले बताएका छन् ।
उसबेला पाल्पा एक गौंडा थियो, त्यो गौंडाले नै पाल्पादेखि महाकालीसम्मको न्याय सम्पादनको अख्तियारी पाएको थियो । काठमाडौं उपत्यकापछि चार पल्टन फौज पाल्पामा मात्रै तैनाथ थियो ।
‘पुरुषोत्तम सी क्लासका राणा थिए । रोलक्रम काटिएका हुनाले उनमा राणाहरूप्रति नै आक्रोश थियो । र, सायद त्यो आक्रोश उनको लेखनमा पोखियो,’ महेशराज पन्त भन्छन् ।
मदन पुरस्कार प्राप्त ‘पाल्पामा प्रजातान्त्रिक आन्दोलनका १०० दिन– विसं. २००७’ किताब लेख्ने क्रममा त्रिविको इतिहासका प्राध्यापक, इतिहासविद्, डा. भवेश्वर पंगेनीको ०४३ सालमा भेट भएको थियो पुरुषोत्तमशमशेरसँग कुपन्डोलस्थित निवासमा । पुरुषोत्तमका पिता ईश्वरशमशेर राणासँग अन्तर्वार्ता गर्ने क्रममा उनीसँग भेट भएको थियो । उनीसँग बाकसका बाकस ऐतिहासिक–पारिवारिक फोटा र लिखत सामग्रीहरू थिए । पुरुषोत्तमबाट राणाकालीन तस्बिरहरू संकलन गरेका थिए, १५ घण्टा लामो अन्तर्वार्ता गरेका थिए भवेश्वरले ।
काठको सन्दुसभित्र थुनिएका राणाकालीन महत्त्वपूर्ण दस्ताबेजहरू प्रयोग गरेर पुस्तकहरू प्रकाशित गरे पुरुषोत्तम शमशेरले । ‘राणाकालीन नेपालको समाज, राजनीतिक–पारिवारिक षड्यन्त्र, अर्थतन्त्र, धर्म, संस्कृति बुझ्न ती किताबले निकै सघाउँछन्,’ भवेश्वर भन्छन्, ‘यद्यपि सामान्यतः उहाँले जे सूचना प्राप्त गर्नुभयो, परिवारबाट जे सुन्नुभयो र अनुभूत गर्नुभयो, तिनलाई पनि लेखनमा जोड्नुभयो । त्यसैले उहाँका लेखनमा आएका कतिपय सन्दर्भहरू नमिलेझैं, इतिहासका तथ्यसँग मेल नखाएझैं लाग्छन् । उहाँका लेखनलाई पाठकले यथावत् ग्रहण गर्नुभन्दा अनुसन्धान गरेर मात्रै स्वीकार गर्नुपर्ने पनि देखिन्छ, तर लेखनमा उहाँको निरन्तरता नै ठूलो योगदान थियो ।’
आफ्नो परिवारले २००४ सालतिर पाल्पामा विश्वेश्वरप्रसाद कोइरालालाई लुकाएर राखेको घटना ‘लिक’ भएपछि आफूहरूलाई गिरफ्तार गर्ने योजना अनुरूप मोहनशमशेरले पाल्पाको ‘तीन साँचा’ अर्थात् त्यस समयको सरकारी ढुकुटीबाट १० हजार रुपैयाँ बाटो खर्च झिकेर काठमाडौं आउन भनेको पुरुषोत्तमशमशेरले ‘नेपाल’ म्यागजिनसँग बताएका थिए ।
उनले भनेका थिए, ‘हामी त्यो रकम लिएर काठमाडौं होइन, लखनउतर्फ भाग्यौं ।’ काठमाडौं आएको भए मोहनशमशेरले तत्काल गिरफ्तार गर्ने योजना बनाएको सुइँको पाएकैले आफूहरू भारततर्फ भागेको उनको जिकिर थियो ।
पुरुषोत्तमशमशेरको महाप्रस्थानपछि महेशराज पन्तको चिन्ता थपिएको छ– शमशेरको संग्रहमा रहेका राणाकालीन एतिहासिक महत्त्वपूर्ण तस्बिरहरू, अप्रकाशित सामग्री, लेखोट र दस्तावेजको संरक्षण अब कसरी होला ? कसले गर्ला ?
