अन्तिम बिदाइको बिदामा सधैं विसंगति

कर्मचारी र सेवाग्राही कार्यालय पुगेपछि बिदा दिने निर्णय सार्वजनिक हुँदा सरकारको आलोचना

मंसिर ४, २०८१

मातृका दाहाल, जयसिंह महरा

Always an anomaly in the final farewell

काठमाडौँ — सधैंझैं सोमबार पनि सरकारी कर्मचारी १० बजे वरिपरि कार्यालय पुग्दै थिए, सेवाग्राही पनि सरकारी कार्यालयको झ्याल–ढोकामा पुगिसकेका थिए । बालबालिकाको पढाइ त विद्यालयमा सुरु नै भइसकेको थियो । बैंक तथा वित्तीय संस्थाका कर्मचारी पनि कार्यालय पुगिसकेका थिए । तर १० बजेतिर खबर फैलियो, ‘पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।’ 

ढुंगानाको निधन आइतबार अपराह्न साढे १ बजे भएको थियो, बिदा दिने निर्णय भने सोमबार १० बजे वरिपरि मात्र भयो । यो निर्णयले सरकारको लापर्बाह शैली मात्र प्रदर्शित गरेन, जसको सम्मानमा बिदा दिइएको हो, शुभचिन्तकलाई पनि खल्लो महसुस गरायो । सामाजिक सञ्जालमा पनि ‘कर्मचारी कार्यालय पुगेपछि बिदा घोषणा’ गरिएको भन्दै सरकारको आलोचना भएको छ । 

Always an anomaly in the final farewell२०४८ देखि २०५१ सालसम्म प्रतिनिधिसभाका सभामुख रहेका ढुंगानाको ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । उनको निधनमा सरकारले शोक सलामी र बिदा दिने निर्णय भने सोमबार बिहान बसेको मन्त्रिपरिषद्बाट गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानाको निधनमा शोक व्यक्त गर्दै ‘राष्ट्रिय सम्मान’ का साथ अन्त्येष्टि र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

Always an anomaly in the final farewellराष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदा प्रहरी वा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा रहेको एक टुकडीले ‘शोक सलामी’ दिने अभ्यास छ, यद्यपि सरकारले सैनिक टुकडीबाट सलामी दिएर अन्त्येष्टि गरेको छ । जबकि पूर्वसभामुख ढुंगाना आफैं सरकारी सुविधा नलिई सादगी जीवन बिताइरहेका थिए । सत्ता र शक्तिको आडमा हुने राज्यस्रोत दुरुपयोगको उनी विरोध गरिरहन्थे । पूर्वसभामुख ढुंगानाले विगतमा राष्ट्रका लागि गरेको योगदानस्वरूप शोक सलामी र सार्वजनिक बिदा दिइए पनि सरकारले समयमै निर्णय नगर्दा नकारात्मक प्रतिक्रिया बढाएको राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलको भनाइ छ । ‘सरकारले सम्मानस्वरूप गरेको निर्णयले अपमान भएजस्तो भयो, मंगलबार बिदा दिएको भए हुन्थ्यो वा आइतबार नै बसेर निर्णय गरेको भए हुन्थ्यो । सरकारको काम गराइ संगतिपूर्ण भएन,’ उनले भने । 

सार्वजनिक बिदा मापदण्ड बनाएर अनुमानयोग्य बनाउने र कुनै विशेष रूपमा मन्त्रिपरिषद्ले निर्णय गर्ने व्यवस्था राखे हुनेमा यसमा बेथिति मौलाएको पोखरेल बताउँछन् । ‘ढुंगानाले नेपालको संसदीय लोकतन्त्रको विकास, मानवअधिकार र शान्ति स्थापनाका क्षेत्रमा खेलेको भूमिकालाई लिएर सम्मान गरिएको हो । तर, यस्ता निर्णय गर्दा सरकारले समयमा निर्णय गर्नुपर्ने देखियो । सरकारले लिन खोजेको श्रेय प्रत्युत्पादक भयो,’ उनी भन्छन् । 

पूर्वसचिव जयमुकुन्द खनाल राष्ट्रिय जीवनमा योगदान गरेका पूर्वअतिविशिष्ट पदाधिकारीको सम्मानमा शोक सलामी दिइनु स्वाभाविक भए पनि ढुंगानाको सन्दर्भमा अन्त्येष्टिअगावै शोकबिदा दिएको विषय अलि अमिल्दो भएको बताए । ‘निधन भएको व्यक्तिको शोक मनाउनका लागि यस्तो बिदा दिने हो । ढुंगानाको सोमबार अन्त्येष्टि हुने भएकाले मंगलबार बिदा गरेको भए पनि हुन्थ्यो,’ खनालले भने, ‘सोमबार बिहान बिदाको निर्णय गर्दा एउटा कार्यमा हिँडिसकेको व्यक्तिको कार्यसूची पनि बिग्रियो र आर्थिक रूपमा पनि असर पर्‍यो ।’ 

सरकारले बिदा र सम्मान दिँदा विवेक पुर्‍याउनुपर्ने र जनताको भावनाप्रति पनि ख्याल गर्नुपर्ने प्राध्यापक पोखरेल बताउँछन् । ‘सरकारले सम्मान व्यक्त गर्न बिदा दिने निर्णय ‘कुसमय’ मा गर्दा सेवाग्राही, कर्मचारीलाई जुन किसिमको प्रभाव पर्‍यो त्यो प्रत्युत्पादक भयो,’ उनले भने । 

२०८० असार २७ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनमा मन्त्रिपरिषद्ले उनलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गर्‍यो । सोहीअनुसार सेनाका अधिकृतसहितको सैनिक टुकडीले शोक सलामी दिएको थियो । पञ्चायतकालमै गणतन्त्रको पक्षमा संघर्ष गरेका रामराजाप्रसाद सिंहको २०६९ भदौ २७ मा निधन हुँदा सरकारले १३ तोपको सैनिक सलामीसहित राजकीय सम्मानका साथ अन्त्येष्टि गरेको थियो । सम्मान दिने निर्णय बाबुराम भट्टराईको मन्त्रिपरिषद्बाट भएको थियो । सिंह पहिलो संविधानसभामा माओवादीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार थिए । २०७५ फागुन १५ मा हेलिकोप्टर दुर्घटनाबाट ज्यान गुमाएका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि पनि राजकीय सम्मानका साथ गरिएको थियो । 

सरकारले बनाएको मापदण्डमा २०४७ पछि प्रधानमन्त्री भएकाको निधनमा मात्रै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय हुँदा २०६६ तिरै सरकारको आलोचना भएको थियो । पञ्चायतकालीन प्रधानमन्त्री कीर्तिनिधि बिष्टले सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै निकटस्थसँग भन्ने गर्थे, ‘मेरो निधनपछि हल्लाखल्ला नगरी अन्त्येष्टि गर्नू’ । २०७४ कात्तिक २५ मा बिष्टको निधन भयो, केही घण्टामै परिवारले पशुपति आर्यघाटमा दाहसंस्कार गरे । 

२०७० साउन ३१ मा पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठको अन्त्येष्टि पनि सरकारी सम्मानबिनै भएको थियो । सरकारले उनको निधनमा राजकीय सम्मानको साटो ‘राष्ट्रिय सम्मान’ र सलामीमा प्रहरीको एउटा टुकडी पठाउने निर्णय गरेको थियो । तर, परिवार र मलामी गएका शुभचिन्तकले प्रहरी सलामी बहिष्कार गरेका थिए ।

बहालवाला र पूर्वपदाधिकारीको निधनमा ‘कुन ओहदाका व्यक्तिलाई कुन किसिमको शोक सम्मान दिने’ भन्ने निर्णय २०६६ चैतमा सरकारले नै जारी गरेको मापदण्डमा उल्लेख छ । उक्त मापदण्डमा बहालवाला राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखको निधन भएमा १ दिन सार्वजनिक बिदा तथा अन्त्येष्टिमा राष्ट्रपतिलाई २१ तोप, उपराष्ट्रपति र प्रधानमन्त्रीलाई १९ तोप र प्रधानन्यायाधीश र सभामुखलाई १७ तोपको सैनिक सलामी दिइने उल्लेख छ ।

पूर्वराष्ट्रपतिलाई १५, पूर्वउपराष्ट्रपति र २०४७ वैशाख १ यताका पूर्वप्रधानमन्त्रीलाई १३ तोपको सैनिक सलामीसहित अन्त्येष्टि गरिने उल्लेख छ । ‘सेनाको टुकडीले तोपसहितको सलामी दिएमा यो राजकीय सम्मान हुन्छ, राजकीय सम्मान अहिले चल्तीमा रहेको मापदण्डअनुसार बहालवाला उपराष्ट्रपतिसहित शीर्ष ६ वटा अतिविशिष्ट पद, त्यसपछि पूर्वराष्ट्रपति र उपराष्ट्रपति तथा २०४७ यताका प्रधानमन्त्रीलाई मात्रै दिइने भन्नेछ । तर, सरकारका पटके निर्णयले यो मापदण्डको पालना भएको छैन,’ गृह मन्त्रालयका एक अधिकारी भन्छन् । 

‘राज्यले सेवाग्राहीलाई महत्त्व दिँदै बिदा कटौती गर्नुपर्छ’

Always an anomaly in the final farewell

पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले सोमबार बिदा दिने निर्णय गर्‍यो । मन्त्रिपरिषद्ले निर्णय गरुन्जेलसम्म कर्मचारी कार्यालय पुगिसकेका थिए, सेवाग्राही लाइनमा बसिसकेका थिए, विद्यार्थी विद्यालय पुगिसकेका थिए । हिजो दिउँसै निधन भएकोमा शोक बिदा समयमा घोषणा नगर्नुलाई कसरी हेर्नुभएको छ ?

जुन व्यक्तित्वको सम्मानमा बिदा दिइयो, त्यो उपयुक्त नै हो । उहाँले गरेको योगदानको स्मरणमा बिदा दिनु उपयुक्त छ । तर कर्मचारी कार्यालय पुगिसकेपछि, कतिले हाजिर गरिसकेको, सेवाग्राही कार्यालय पुगिसकेको हुनाले केही अप्ठ्यारो भएको सबैले महसुस गरेका छन् । गृह मन्त्रालयले आइतबार नै बिदाको सूचना सार्वजनिक गरिदिएको भए अझ त्यसको गरिमा र मर्यादा भएको सन्देश जान्थ्यो । सोमबारको घटनाले ठीक समयमा सरकारले निर्णय गर्न नसकेको देखियो ।

कुन–कुन व्यक्तिको निधनमा कस्तो सम्मान र बिदा दिनेबारे के व्यवस्था छन् ? वा कानुन नै बनाएर यससम्बन्धी अनुमानयोग्य व्यवस्था गर्न सकिँदैन ?

ऐन नबनाए पनि सरकारले सार्वजनिक पदमा बसेका यी व्यक्तिहरूको निधनमा यस्तो किसिमबाट सम्मान गरिनेछ भन्ने मापदण्ड बनाउन सक्छ । ऐन भएपछि संशोधन गर्नुपर्दा संसद्मा लानुपर्छ र प्रक्रिया लामो हुन्छ । त्यसैले मन्त्रिपरिषद्ले एउटा मापदण्ड बनाउँदा ठीक हुन्छ । 

त्यसमा राज्यले यस्ता व्यक्तिलाई सम्मान दिन्छ र त्यसमा पनि सरकारले उपयुक्त समयमा थपघट गर्न सक्छ भनेर अधिकार पनि राखिदिनुपर्छ ।

कहिलेकाहीँ राष्ट्रिय जीवनमा महत्त्वपूर्ण योगदान दिएका व्यक्ति हुन्छन् । एकछिन मान्नोस्, हिमाल आरोहण गर्‍यो कम उमेरको मान्छेले र फर्किंदा देहान्त भयो भने र त्यसका लागि मापदण्डमा लेखेको रहेनछ भने सरकारले बिदा दिन सक्छ । कुनै खेलाडीले विश्वकप नै जितेर आयो भने सार्वजनिक बिदा दिन सक्छ, त्यस्ता व्यवस्था लेखेको रहेनछ भने थप गर्न सक्ने व्यवस्था राखेर मापदण्ड बनाउनुपर्छ । मापदण्ड बनायो भने विधिको शासनलाई सहज रूपमा अगाडि बढाउन सकिन्छ । 

सरकारले हाल कुन कानुनी आधारमा टेकेर यस्ता बिदा घोषणा गर्छ ?

सरकारमा भएको कार्यकारिणी अन्तरनिहित अधिकार प्रयोग गरेर बिदा घोषणा गर्ने हो । सामान्य प्रशासन सञ्चालन र निर्देशन गर्ने मन्त्रिपरिषद्को अधिकार हुन्छ भनेर संविधानमा उल्लेख छ, त्यसअन्तर्गत दैनिक प्रशासन सञ्चालन गर्ने उससँग अन्तरनिहित अधिकार भएको हुनाले त्यही प्रयोग गरेर मन्त्रिपरिषद्ले निर्णय गर्छ । 

नेपाल त्यसै पनि धेरै बिदा दिने मुलुकमा पर्छ । सार्वजनिक बिदा दिँदा प्रशासनिक र आर्थिक रूपमा मुलुकलाई नोक्सान हुँदैन ?

प्रशासन सुधारको प्रतिवेदनमा अध्यक्षका हिसाबले धेरै बिदा कटौती गर्नुपर्छ भन्ने सुझाव दिएको थिएँ । बिदाका कारण सरकारको इन्धन र अन्य खर्च बच्ने भएकाले फाइदा त हुन्छ । तर राज्यले सेवाग्राहीको कोणबाट हेर्नुपर्छ । राज्यबाट सेवा लिन कतिपयले टिकट लिइसकेका हुन्छन् । कति बाहिर जानुपर्ने हुन्छ, कतिपयले तुरुन्तै विभिन्न तहबाट सिफारिस लिनुपर्ने हुन्छ । यस्तोमा बिदाले समस्या पर्छ ।

नेपाल त्यसै पनि धेरै बिदा दिने मुलुकमा पर्छ । काम ८ घण्टा गरेकै हुनुपर्छ । हामीकहाँ त त्यो समयमा पनि काम भएको हुँदैन । हाजिर मात्र भएको हुन्छ । हामीले परिणाम दिने गरी काम गर्नुपर्छ । कर्मचारी कामको समयमा आलटाल, चियापान, खाजा भनेर धेरै अलमलिनु राम्रो होइन । कार्यालय समयभित्र उसले काम गरेको हुनुपर्छ । सरकारी सेवा, निजामती सेवाको कर्मचारीले २४ सै घण्टा काम गर्नुपर्छ भनी कानुनले नै भनेको छ । तर बिदा भनेको अधिकारका रूपमा प्रयोग गर्ने प्रवृत्ति छ । बिदा भनेको अधिकार होइन, सहुलियत हो भन्ने सिद्धान्तमा जानुपर्छ । 

सरकारले ढुंगानाको निधनमा बिदा दिँदा देखाएको शैलीलाई के भन्नुहुन्छ ? भविष्यमा यस्ता घटना दोहोरिन नदिन के गर्नुपर्छ ?

सरकारले समयमै निर्णय गर्न नसकेको हो । सूचना प्रवाहका यति धेरै माध्यम छन्, तिनलाई प्रयोग गर्नुपर्छ । जसलाई हामीले सम्मान गर्ने हो, समयमै निर्णय गरेर सूचना प्रवाह गर्ने हो भने टाढाटाढाबाट कार्यालय जानुपर्ने मान्छेहरूले पनि जान नपर्ने अवस्था हुन्छ । सेवाग्राहीले पनि दुःख नपाउने हुन्छ । आजको घटनाबाट पाठ सिकेर आगामी दिनहरूमा सरकारले समयमै निर्णय र सूचना जारी गर्नुपर्छ । अर्को, कस्ता–कस्ता व्यक्तिहरूलाई सरकारले सम्मान दिने भनेर मापदण्ड पनि बनाउन आवश्यक छ ।

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully