उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन आज

मंसिर २, २०८१

कान्तिपुर संवाददाता

Candidate nominations for by-elections today

काठमाडौँ — स्थानीय तह उपनिर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता हुँदै छ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको तालिका छ । 

मंसिर १६ मा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको सूची आइतबार साँझ ५ देखि ६ बजेसम्म प्रकाशन गरिनेछ । उम्मेदवारको विरोधमा मंसिर ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने कार्यसूची छ । मंसिर ५ लाई उम्मेदवारीको नाम फिर्ता लिने समय तोकिएको छ । त्यही दिन अपराह्न उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ । 

२०७९ को निर्वाचनपछि रिक्त रहेका नगरपालिका प्रमुख र उपप्रमुख १/१, गाउँपालिका अध्यक्ष २ र उपाध्यक्ष ४ तथा वडाध्यक्ष ३४ जना छान्न उपनिर्वाचन हुँदै छ । यही उपनिर्वाचनबाट ओखलढुंगा र कैलालीका जिल्ला समयन्व समिति प्रमुख पनि चयन गरिनेछ ।

काठमाडौंको कीर्तिपुर नगरपकालिकामा प्रमुख, दैलेख महाबु गाउँपालिकामा अध्यक्ष, मोरङ ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि निर्वाचन हुँदै छ । जाजरकोट नलगाड नगरपालिकामा उपप्रमुख, दोलखा गौरीशंकर गाउँपालिका, रुकुम (पूर्वी भाग) पुथा उत्तरगंगा गाउँपालिका, हुम्ला सर्केगाड गाउँपालिका र बाजुरा स्वामीकार्तिक खापर गाउँपालिकामा उपनिर्वाचनबाट उपाध्यक्ष चयन गरिनेछ । 

आयोगले उम्मेदवारी मनोनयनको दिनबाट निर्वाचन आचारसंहिता लागू गर्दै छ छ । नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारसहित सबै सरकारी निकाय, उम्मेदवार, राजनीतिक दल, मिडियाका लागि निर्वाचन नसकिएसम्म आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।

उपनिर्वाचन हुने जिल्लाभित्र मात्र आचारसंहिता लागू हुनेछ । आचारसंहिता पूर्णरूपले पालना गरी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गराउन आयोगले सबैमा आग्रह गरेको छ ।

स्थानीय तह उपनिर्वाचन-२०८१

कान्तिपुर

Link copied successfully