काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका प्रधानमन्त्री पहिले चीन जाँदैमा भारतसँगको सम्बन्ध नबिग्रिने बताएका छन् । इस्लाम धर्मावलम्बीले दिल्लीको हजरत निजामुद्दीनको भ्रमण गरेपछि मात्रै अजमेर सरिफ दरगा गएझैँ राजनीतिमा त्यस्तो नहुने जिकिर गरे । निजामुद्दीन र अजमेरलाई भारत र चीनका रूपमा उनले सांकेतिक अर्थ दिएका थिए ।
कान्तिपुर मिडिया ग्रुपले काठमाडौंमा आयोजना गरेको कान्तिपुर कन्क्लेभ-२०२४ को दोस्रो दिन, बिहीबारको अन्तिम सत्र ‘प्रधानमन्त्रीसँग परिसंवाद’ विषयक अन्तरक्रियामा प्रधानमन्त्री ओलीले सार्वभौम देशले जता अनुकूल पर्छ, त्यतै भ्रमणमा जाने स्वतन्त्रता भएको बताए ।
‘इस्लाम धर्मावलम्बीहरूको पवित्र स्थल छ,अजमेर सरिफ दरगा, त्यहाँ जानुअघि उनीहरू दिल्लीको निजामुद्दीनको भ्रमण गरेर मात्रै जानुपर्छ भन्छन्,’ ओलीले भने, ‘राजनीतिमा कुनचाहिँ निजामुद्दीन हो वा कुन अजमेर हो, म बुझ्दिनँ ।’ संयुक्त्त राष्ट्रसंघको महासभाका लागि अमेरिका गएर आएको हुँदा अमेरिकालाई निजामुद्दीन नठान्न उनले ठट्टा गरे ।
‘हाम्रा लागि कुनै अजमेर र निजामुद्दीन छैन,’ उनले भने, ‘हाम्रा दुई महान, विशाल छिमेकी छन्, दुवैसँग राम्रो सम्बन्ध राख्नुपर्छ । चीन जाँदा भारतसँग सम्बन्ध बिग्रिँदैन, बिग्रिने कारण छैन ।’ अमेरिकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका विदेश मन्त्रीलगायत थुप्रै प्रतिनिधिसँग भेट गरेको उनले बताए ।छिमेकीहरूलाई साना-तिना कुरामा रिसाउन, उफ्रिने ‘युट्युबे’ जस्तो रूपमा लिन नहुने ओलीले बताए । छिमेकीसँगका सम्बन्धहरू गहिरा र प्रागऐतिहासिक भएको उनको भनाइ थियो ।
