नेपालले कोप-२९ मा जलवायु वित्त सहजलगायत चार विषयमा सम्बोधन गर्ने तयारी 

कार्तिक १३, २०८१

कान्तिपुर संवाददाता

Nepal prepares to address four issues including climate finance facilitation at COP-29

काठमाडौँ — नेपालले जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२९) मा जलवायु वित्तलगायत चार विषयमा सम्बोधन गर्ने तयारी गरेको छ ।

अजरबैजानको बाकुमा कात्तिक २६ (नोभेम्बर ११) बाट हुने कोप–२९ मा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको विषयबारे सम्बोधन गरिने तयारी गरिरहेको वन तथा वातावरण मन्त्रालयका जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख सिन्धुप्रसाद ढुंगानाले जानकारी गराए । 

कोप–२९ मा नेपालले जलवायु परिवर्तनबाट भएका हानीनोक्सानी (लस एन्ड ड्यामेज), यसबाट नेपालले पाउनुपर्ने क्षतिपूर्तिस्वरुप जलवायु वित्त (क्लाइमेट), हिमाल र जलवायु न्याय (क्लाइमेट जस्टिस) विषयमा नेपालले सम्बोधन गर्ने तयारी गरिरहेको उनले बताए । 

‘कात्तिक २७ गते हुने उच्च स्तरीय सम्मेलनमा जलवायु परिवर्तनका कारण नेपालले भोगेको हानी तथा नोक्सानी कति छ ? अवस्था के छ भनेर सम्बोधन गरिने छ,’ उनले भने, ‘यसमा क्षतिपूर्ति गर्नुपर्छ भन्ने कुरा हाम्रो हो । किनभने जलवायु परिवर्तन हाम्रो कारणले भएको होइन । जसले गराएको उसले पूर्ति गर्नपर्छ भन्ने हो ।’

उक्त दिन हुने उच्चस्तरीय सम्मेलनमा अन्य देशका राष्ट्रप्रमुखहरूले आफ्नो धारणा राख्ने उनले सुनाए । 

कोप–२९ मा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । जसमा वन मन्त्री ऐनबहादुर शाही ठकुरीसमेत सहभागी हुनेछन् । 

कोप–२९ को कात्तिक २६ गते (नोभेम्बर ११) मा उद्घाटन सत्रमा नेपालले सहभागी जनाउनेछ । कात्तिक १२ र १३ गते (नोभेम्बर १२ र १३) राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जानकारी दिएको छ ।  

‘हामी हिमाल भएको मुलुक हो । त्यसैले हिमालका कुरा धेरै सुनिनुपर्छ । जलवायु परिवर्तनको असर बढी हिमालमा देखिएको छ,’ उनले भने, ‘हामीले जलवायु वित्तमा नेपालको सहज पहूँच हुनुपर्छ भन्ने हो । यो ऋणमा आधारित नभई अनुदानको रूपमा हुनुपर्छ ।’ साथै जलवायु फाइनान्स बहुपक्षिय मात्र नभई दुई पक्षीय पनि हुनुपर्ने कुरा उठाइने उनले बताए ।

‘हामीले कोप–२९ मा केही देशहरूसँग दुई पक्षीय सम्झौता गर्ने भनेका छौं,’ महाशाखा प्रमुख ढुंगानाले थप भने, ‘यसमा समझदारी हुन्छ । समझदारीको विभिन्न अवधारणामा रहेर तयारी गरिरहेका छौं ।’

कोप-२९

कान्तिपुर

Link copied successfully