'सरकारले विकास र सुशासनका काम अघि बढाउँदा भ्रष्टहरूको मोर्चा बन्नु बेग्लै कुरा हो'

कार्तिक ७, २०८१

कान्तिपुर संवाददाता

'When the government is promoting development and good governance, it is a different thing to become a front for the corrupt'

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका दिशामा काम अगाडि बढाउँदा भ्रष्टहरूको मोर्चा बनेको आरोप लगाएका छन् । कसले त्यस्तो मोर्चा बनायो भन्ने स्पष्ट नभनेका प्रधानमन्त्रीले सरकारले सुशासनका दिशामा काम गर्दा मोर्चा बनेको बताएका हुन् । 

सरकार गठनको १०० दिन पुगेको अवसरमा बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट सम्बोधन गर्दै ओलीले सरकार सुशासनको पक्षमा काम गर्न लागेको बताएका हुन् ।

'भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिनको हल्लाबाजी र सुटिङ गरेर देखाउने विषय बन्नु हुँदैन । यसले सुशासनको प्रणालीका रुपमा गति लिनुपर्छ । भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई होइन, कानुनलाई गुरु मानेको छ । ‘भ्रष्टाचारी समातियो’ भन्ने केही समय हल्ला मच्चिने, तर परिणाममा भ्रष्टाचार बढ्दै जाने खालको अवस्था होइन, परिणाममा भ्रष्टाचार नियन्त्रण हुने कानुनी प्रणाली स्थापित हुने पद्दति बसाल्ने हाम्रो प्राथमिकता छ,' ओलीले भने, 'भ्रष्टाचारका कसुरमा फस्ने त्रास र त्यसबाट उम्किने आकांक्षा, भ्रष्ट र भ्रष्टाचारका मतियार जोगाउने उद्देश्यका साथ देशमा अस्थिरता र अराजकता फैलाउन खोज्ने तत्वहरु सक्रिय रहेको हामीले देखिरहेका छौं । सरकारले विकास र सुशासनका लागि सही दिशामा काम अघि बढाएकाले भ्रष्टहरूको मोर्चा बन्नु बेग्लै कुरा हो ।'

आफू नेतृत्वको सरकारले राष्ट्रियताको रक्षा, राष्ट्रिय हितको संरक्षण, सुशासन र विकासका काममा सरकारले कसैसँग कुनै सम्झौता नगर्ने ओलीको प्रतिबद्धता थियो । 

आफू सरकारमा आउँदा अर्थतन्त्र सही दिशामा नरहेको ओलीको आरोप थियो । 'हामी सरकारमा आउँदा अर्थतन्त्र डामाडोल थियो । आज त्यसमा सुधारका संकेतहरु देखा परेका छन् । निजी क्षेत्रकै माग बमोजिम अर्थतन्त्र सुदृढीकरणका लागि आर्थिक सुझाव आयोगजस्ता महत्वपूर्ण आयोगहरूको गठनले व्यवसायीहरूमा आत्मविश्वास पलाउँदै गएको छ । परिणमस्वरुप, एक सय दिनको अवधिमा २०० वटा उद्योगमा करिब ३४ अर्ब रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ,' उनले थपे, 'अन्तर्राष्ट्रिय स्वतन्त्र विज्ञ संस्थाबाट नेपालको सार्वभौम साख मूल्याङ्कन (क्रेडिट रेटिङ) को कार्य अन्तिम चरणमा पुगेको छ । लामो समयदेखि गिरेको शेयरबजार प्राकृतिक विपत्तिको प्रतिकुलताका बीचमा पनि प्रगतिकै लयमा छ ।'

सरकारले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारका गतिविधिमाथि कारबाही गर्ने ओलीले दोहोर्‍याए । 

सरकारका १०० दिन

कान्तिपुर

Link copied successfully